
निर्देशक/कलाकार खगेन्द्र लामिछानेको चलचित्र डमरुको डन्डीबियो सिनेमा घर गोल्ड एपमा उपलब्ध भएको छ । यो एप डायनलोड गरेर नेपालमा रहेका दर्शकले चलचित्र डमरुको डन्डीबियो निःशुल्क हेर्न पाउनेछन् ।
दर्शकलाई सरप्राइज भन्दै उनले आज फेसबुक लाइभमा आएर यो जानकारी दिएका हुन् ।
खगेन्द्र लामिछाने भन्छन्, “धेरै दर्शक तथा साथीहरुले हलमा हेर्न नपाएको गुनासो पोख्नु भएको थियो । त्यो समयमा राजनीतिक अन्योलले गर्दा हलमा लामो समय चल्न सकेन । त्यसैले धेरैको गुनासोका कारण यो एपमा उपलब्ध गराएका हौं । यो नै हो मेरो आजको सरप्राइज ।”
अहिले नेपालमा रहेका दर्शकले मात्रै हेर्न पाउने भए पनि चाँडै नै वाहिर रहेका नेपाली दर्शकलाई पनि हेर्न मिल्ने बनाउने तयारी रहेको खगेन्द्रले जानकारी दिए ।
एपमा पनि चलचित्र हेर्ने बानी बसाल्न अनुरोध गरेका उनले लकडाउनको खाली समयलाई केही सदुपयोग गर्न आफ्नो टिमले अनलाइनमा ल्याउने निर्णय गरेको बताए ।
छेतेन गुरुङले निर्देशन गरेको यो चलचित्रका खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, आशान्त शर्मा, बुद्दि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देबालगायत कलाकार मुख्य भूमिकामा छन् । कथा खगेन्द्र स्वयंले लेखेका हुन् ।
यसका साथै यो लाइभको समयमा सिनेमा घर गोल्ड एपको फेसबुकपेज फलो गर्ने मध्ये दुई लक्की विजेतालाई यस एपको एक वर्षको निःशुल्क सब्सिक्रप्सन उपलब्ध हुने पनि उनले जानकारी दिए ।
केही समय अगाडि उनले लञ्च गरेको डिजिटल प्लेटफर्म सिनेमा घर गोल्डमा वर्षको १८ वटा चलचित्र हेर्न सकिने उनले बताउँदै आएका छन् । वर्षको ५ सय रुपैयाँमा उक्त एपमा उपलब्ध १८ चलचित्रसहित अन्य सामग्री हेर्न सकिने छ ।