
काठमाडौं– बाढीपहिरो र डुबानलगायत विपद्पछिको उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत कार्यमा विलम्ब नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा विपद् प्रतिकार्यमा ढिलाइ हुँदा प्रभावितहरूले थप समस्या भोग्नुपरेको देखिएको पनि आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
‘सुरक्षा निकायबाट उद्धारका लागि तदारुकताका साथ कार्य गरिरहेको भए पनि उद्धार सामग्री पर्याप्त नहुँदा उद्धारकार्य प्रभावकारी हुन नसकेको, सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको अनुगमनबाट देखिएको छ’, आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षा हुन सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिए पनि विपद्पछिको तत्काल उद्धारका लागि सरकारी निकायबीच समन्वय, संवेदनशीलता र उद्धार सामग्री, उपकरण तथा प्रविधिको अभावका कारण सयौँ व्यक्तिले ज्यान गुमाउनु परेको पाइएको छ ।’
यस्तै, उद्धार गरी अस्थायी रूपमा प्रभावितलाई राखिएका ठाउँहरूमा फोहोर र महामारी फैलिन सक्ने भन्दै स्थानीयले हटाउन माग गर्दा समस्या भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।