एक किलो जंगल / स्व बिमल गुरुङ/कविता


वि.सं २०२८ कार्तिक १९ गते पिता पूर्ण बहादुर गुरुङ र आमा सरस्वती गुरुङको  कोखबाट स्व विमल गुरुङको  हङ्कङ्को किङ्गस पार्क अस्पतालको पोलुममा जन्म भएको थियो । बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्ग मै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट शिक्षा लिनु भएको थियो।वि .सं. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किए पछि धरान – ४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कूलमा भर्ना भई एस.एल.सी सम्मको अध्ययन पूरा गर्नुभएको थियो  ।सानै उमेरदेखि विमल अरु केटाकेटी भन्दा फरक स्वभावका भएका कारण खेल, मनोरन्जन तिर भन्दा उहाको अध्ययन, चिन्तन र लेखन तिर नै बढि झुकाउ थियो।

आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कविता मार्फत प्रस्तुत गरेर श्रोता वर्गलाई चकित तुल्याउने विमलले आफू लगायत दौंतरी युवाहरुको साहित्य प्रतिको चाखलाई ख्याल गरी सोको प्रबद्र्धनका निमित्त उत्साहित युवा साथीहरु सित मलेर धरान १८ स्थित बुद्ध चौकमा वि.सं. २०४५ साल तिर बुद्ध वाचनालयको स्थापना गर्नुभयो । सोही वाचानालय मार्फत विमल कै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्ते पत्रिकाको प्रकाशन समेत शुरु गर्नुभयो  । इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गते सम्म निरन्तरता पाई जम्मा १५ अंक सम्म प्रकाशित भए । २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्ते पत्रिकाको एक अंक पनि प्रकाशित भएको छ जो तत्कालीन खाडी युद्ध सम्बन्धमा रहेको छ ।

१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गर्नुभएको छ  । विमलले विशेष समाचारपत्रहरुमा रिपोर्टिङ्ग गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा “सर्वेक्षण” नामक उपनामबाट छपाउने गर्नुहुन्थ्यो  । उहालाई लेख र निबन्ध तर्फ पनि विशेष रुचि थियो ।  ।

सत्र वषैको कलिलो उमेरमै उहाँ राजनीतिक रुपले सजग र कविता सृजनामा सशक्त भैसक्नु भएको थियो  । उहाँले “एक किलो जंगल” जस्तो ओजस्वी कविता सत्रै वर्षको उमेरमा रच्नु भएको थियो  भने बांकी अठार वर्षको उमेरमा रच्नु भएको हो । अल्पायुमै सैकडौ कविता र अनेकौ निबन्ध रचेका विमल गुरुङ्गले पढाइका साथै सङ्गठनात्मक कार्यहरु चालु राख्नु भएको थियो  । 

अभिव्यक्ति प्रस्तुत गर्ने क्रममा विमल कवितातर्फ जीवनवादी र प्रगतिवादी देखिनु हुन्छ भने  गद्य रचना र लेखनतर्फ उहाँ हक्की र केही आक्रामक देखिनु हुन्छ ।शैली, प्रतीक, विम्ब आदि सबै दृष्टिले परिपक्व पुगेको वान्कि परेका कविता लेख्ने उहाँले सबै कविता छन्दको रमरम आभाष मिल्ने गद्य शैलीमा रच्नु भएको छ।  साथै  लघु कविता, मुक्तक र हाइकु तिर पनि  उहाँको लेखनी रमाएको पाइन्छ ।

राजनीतिक चेत भएका सुन्दर कविता लेख्ने कवि गुरुङको  चुनाबको प्रचारप्रसार लागि  काठमाडौँ बाट धारन फर्किने क्रममा , जुकेपानी ,(थानकोट र नौविसेबीच पर्ने ठाउँ)मा २४ बैशाख २०४८ मा भएको  बस दुर्घट्नामा परी दुखद निधन भयो ।

उहाँको असामयिक निधन पछि उहाँ माथि कवि श्यामलले लेखे, “लाखौं सूर्यहरुमध्ये खस्यो एउटा सूर्य”। अनि मोदनाथ प्रश्रितले लेखे, “इतिहास चुक्चुकाइरहेछ” ।


प्रस्तुत गर्दछौ उनकै एक प्रतिनिधि कविता ।

नोट – प्रस्तुत कविता वि.सं. २०४६ साल बैशाख १ गते धरान जेसिजद्धारा आयोजित प्रतियोगतात्मक कविता गोष्ठीमा प्रथम भएको थियो ।


 

एक किलो जंगल

स्व बिमल गुरुङ

अब मुद्दाको कविता लेख्न लागेको छु
बर्षौं – बर्ष देखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको – फंन्दाको
कविता लेख्न लागेको छु ।

तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरुको
अपुर्ब ब्याख्या गर्दै थाकका थाक लेखे कबिहरुले
कबिहरुले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कबिता लेखे
कबिहरुले समुन्द्रका कबिता लेखे
कबिहरुले झरनाका कबिता लेखे
धकै नमानी
कबिहरुले
दाउरे दाईले बनजांचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरु लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कबिहरुले दाउरे दाईको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कबिहरु !
म अब गोलभेडाको कबिता लेख्छु
म अब तिर्खाको कबिता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कबिता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरुका खिल्ली उडाउंदै कबिता लेख्छु ।

कबिहरुले
खोलाका एकनास-एकनास धुनहरुका कबिता लेखे
कबिहरुले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कबिता लेखे
कबिहरुले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कबिहरुले स्तुति र गुणगानका कबिता लेखे
कबिहरुले भक्ति र प्रसंशाका कबिता लेखे ।

मैले यो भन्नै पर्छ कि
मलाई थाहा छैन
कबिहरुले एकपक्षीय अत्याचारको बिरुद्धमा
युद्धका कबिता लेखेर
साँझमा निस्कने मान्छेहरुका जमातमा गएर सुनाएको थाहा छैन ।

हजुर रिसाउनुहोस या खुसाउनुहोस
अर्थात
खुसाउनुहोस् या
रिसाउनुहोस चौधारी साहेब !
म अब झण्डै झण्डै बाध्य जस्तो भएको छु
दुख नमान्नुस है चौधरी साहेब !
खटिया माथिको मसीको बट्टामा
पाँच हजारवटा आकाश राखेर
अनि शिरमा चट्ट एउटा रुमाल सिउरेर
म अब टक्करको कबिता लेख्छु ।

म अब झिल्काको कबिता लेख्छु
लेखेनन् कबिहरुले
फस्टेको पाठशालाको शुल्कबारे कहिल्यै लेखेनन्
कबिहरुले
हैजाले सात दिनदेखि ओछ्यानमा परेको
रातेको बिरामी बुबाको अबर्णणीय कष्ट कहिल्यै देखेनन् ।

कबिहरुले
केवल सम्राटहरुको दु:खका कबिता लेखे
कबिहरुले
केवल
सम्राटहरुका आनन्दका कबिता लेखे ।

कबिहरुले
केवल सुन्दरीहरुसंग नारिएर नाच्दा आउने
उत्तेजनाका कबिता लेखे
कबिहरुले केवल सिताको पतिप्रेमका कबिता लेखे
कबिहरुले
केवल, सेतो टिनको छाना माथि
टुक्रुक्क लौरो टेकेर बसेको
स्वास्नी कुट्ने
आयोतुल्ला खुमेनीको प्रफुल्ल आँखाका कबिता लेखे ।

कबिहरुका हात
कहिल्यै रातेको बाबुको दु:खको कबिता लेख्न चल्मलाएनन्
कबिहरुका हात
कहिल्यै रातेको बाबुको पसिनाको कबिता लेख्न चल्मलाएनन् ।

चौधरी साहेब !
म अब हजुरलाई रातको रगना सकेर
सधैं झैं
रामायणको उत्तरकाण्ड/ बालकाण्ड र
इत्यादि, कुन्नि के के काण्डहरु पढेर सुनाउन सक्तिन
म अब संधै झैं
हरेक बर्ष स्वस्थानीको ब्रतकथा पढ्न पनि सक्तिन
म अब हजुरको
त्यो कालो हरहिसाब मिलाउन पनि सक्तिन ।

चौधरी साहेब !
साँच्ची, नरिसाउनुहोस है !
म अब रातेको बुबाको पिडाको कबिता लेख्छु
म अब माटोको कबिता लेख्छु
स्वात्त …!
अगेना भित्र पसेर
म अब एक किलो जंगलको कबिता लेख्छु
म अब चोटपटकको कबिता लेख्छु
चौधरी साहेब !
म अब तपाईं कै बिरुद्धमा कबिता लेख्छु !

म अब जनई भिरेको ब्राम्हणले
सार्कीको होटेलमा पसेर
सुंगुर्/रांगो/भंसी/सर्प र
भ्यागुताको मासु
पड्काएको कबिता लेख्छु
म अब
गिंठा र भ्याकुरको कबिता लेख्छु
म अब
चिप्लेभेण्टीको कबिता लेख्छु ।

समुन्द्र पारीको धावामा
मरेका आफ्ना छोराहरु सम्झदै
अनुहारका आकाशभरि पिडाका घाउहरु बोकेर
थुप्रै आमाहरु
आँगनमा
मुर्छा परिपरि रोएको मैले देखेको छु
म त्यसैको कबिता लेख्छु !
म अब त्यसैको कबिता लेख्छु !
हो म अब त्यसैको कबिता लेख्छु !

(२०४५/११/२१)

(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कबिताले उहाँलाई निरंकुश पञ्चे शासकहरुको नजरमा अझ बढि अ-राष्ट्रिय कुतत्व बनाएको थियो )


प्रकाशित : २०७५ पुष ४, बुधबार ११:५३ गते

धेरै पढिएको

ताजा समाचार