यान्त्रिकता / विजय मल्ल/कविता


वि.सं. १९८२ सालको असार १० गते काठमाडौँको ओमबहालमा जन्मेका विजय मल्ल मुलत: कलाकार, राजनीतिज्ञ, चित्रकार,खेलाडी, अभिनेता र त्यसपछि साहित्यकार हुन्; सायदै यो कुरा हामीलाई थाहा छ ।

‘अनुराधा’ उपन्यास लेखेर उपन्यासको क्षेत्रलाई अर्कै उचाइमा पुर्याएका मल्लले  ‘कोही किन बरबाद होस्’ नाटक लेखेर नेपाली नाटक क्षेत्रलाई पनि एउटा बेग्लै शिखरमा पुराए । उसैगरी ‘परेवा र कैदी’ नेपाली कथाक्षेत्रको एक उत्कृष्ट कथाकृति हो । ‘छोरीलाई मानचित्र पढाउँदा’ कविताले लेखेर कविताको शिखर चुमेका मल्लको ‘पत्थरको कथा‘ उत्तीकै शशक्त एकाङ्की सङ्ग्रह हो ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उप कुलपति, नेपाल लेखक सङ्घका सचिव, साहित्य संस्थानका उपाध्यक्ष, गौरीशंकर नाट्य समुदायका सचिव समेत भएका मल्लको ‘एक बाटो अनेक मोड’ कथासंग्रहलाई २०२७ सालको साझा पुरस्कार पनि दिइएको थियो । सबै साहित्यिक विधालाई उत्तिकै प्रेम गर्ने मल्लको प्रकाशित कृतिहरु पढीरहँदा नाटक विधाप्रति उनको अलिक बेसी झुकाव थियो कि झैँ देखिन्छ ।

नेपाली साहित्य जगतको मूर्धन्य साहित्यकार विजय मल्लको ७४ वर्षको उमेरमा वि.सं. २०५६ साल साउन ८ गते काठमाडौ मै निधन भएको हो !

प्रस्तुत छ उनको एउटा कविता  “यान्त्रिकता ”


 “यान्त्रिकता ”

विजय मल्ल 

सडक-सडक, होटल-होटलमा
कागजका कोरा पर्चाहरूमा
केही लेखिएजस्तो, केही कोरिएजस्तो
यन्त्रमानव
पकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ ।
मानौँ यस दुनियाँमा केही भएको छैन
मानौँ यहाँ केही समस्या नै छैन!
ए पत्थरका सालिकहरू,
तिम्रो जीवन र मृत्युलाई छुट्ट्याउन पनि गाह्रो भो,
साँच्चै गाह्रो भो!


प्रकाशित : २०७५ पुष १, आईतवार १५:५५ गते

धेरै पढिएको

ताजा समाचार