हेमन्त शिशिरको तीन कविता !!


२०५१ साल जेष्ठ ०३ गते जन्मिएका हेमन्त शिशिर, पिता उद्दवराज उपाध्याय र माता बिष्णा देवी उपाध्यायको छोराको रुपमा अछाममा जन्मिएका हुन् ।

Hemanta Shishir

त्रिचन्द्र कलेजबाट स्नातकसम्मको अध्धयन सकेका ‘शिशिर’ साहित्यमा गहिरो रुची राख्दछन् । प्रस्तुत छ उदगार साहित्य समाजको संस्थापक अध्यक्ष समेत रहेका कवी हेमन्त शिशिरसँग गरिएको कुराकानी र उहाँको तीन कविताहरु:-
बौद्दिकताको कुनै निश्चित सिमाना हुदैन, बौद्धिकता विचार, अध्यन र भोगाइको प्रोडक्ट हो । अब कवितामा कतिसम्म बौद्धिकता घुसाउने भन्दापनि कसरी घुसाउने भन्नेकुरा महत्त्वपूर्ण हुन्छ ।
  • समकालीन अवस्थामा नेपाली कविता लेखन क्षेत्रमा भावानात्माक भन्दा पनि बौद्धिकता जोड दिइ रहेको पाइन्छ । उसो त अग्रज बालकृष्ण सम पनि भन्थे, ” कविता बौद्धिक कोमलता हो ।” फेरि बौद्धिकता भन्दैमा कविता भित्र सब्बैथोक घुसाउन पाइने कि नपाइने ? एउटा असल कविताले थाम्न सक्ने उत्तरोत्तर बौद्धिकता कहाँसम्मको हो ? तपाईं कविता लेखिरहँदा के कुरामा बेसि ध्यान दिनुहुन्छ, बौद्दिक कमोलता कि जीवन सापक्षेता ?

बौद्दिकताको कुनै निश्चित सिमाना हुदैन, बौद्धिकता विचार, अध्यन र भोगाइको प्रोडक्ट हो । अब कवितामा कतिसम्म बौद्धिकता घुसाउने भन्दापनि कसरी घुसाउने भन्नेकुरा महत्त्वपूर्ण हुन्छ । कवितामा आफ्नो लेखनकला र विषयवस्तुलाई सन्तुलनमा राखेर लेखेपछि कविता त आफैँ कोमल भैहाल्छ । बौद्धिकता जीवनसंग जोडिएको कुरा हो । कविता लेख्दा म बौद्धिकता र जीवन सापेक्षता दुवै कुरामा ख्याल गर्छु किनभने विचार र जीवन दुवै सापेक्ष छन् ।

 

  • कवि प्रथमतः द्रष्टा हो त्यसपछी स्रष्टा हो । खजमजिएको युगको नक्शालाई सच्चाउनु कविको दायित्व हो । समकालीन कविहरुको एउटै आवाज विशेषत बोलिरहन्छन, “कवितामा समाज र समय लेखिनुपर्छ ।” त्यसो भैरहेको छ ? तपाईं त्यसो गरिरहनु भएको छ त ?

हो, अवश्यपनि । कवितामा समय र समाज लेखिनै पर्छ, कवितामा आफू बाँचेको युगको धुन समेट्नु जरुरी छ तर समय र युग लेखिरहँदा कविले कविताको चेतना, कविताको चिन्तन, बिम्ब र मिथकको प्रयोगमा विषेश ख्याल गर्नुपर्ने हुन्छ । कविताको सवालमा कवि केअरलेस हुनु हुँदैन, कवितामा कविले आफू बाँचेको युगलाई एकदम सशक्त रूपमा प्रस्तुत गर्नु पर्छ। मेरो कवितामा मैले अहिलेको समाजलाई अन्याय गरेको छैन जस्तो लाग्छ ।

 

  • नेपाली साहित्य जगतमा बनेका, उठेका घरहरु(कथाहरु) उत्ति भेटिंदैनन् । बिग्रेका, भत्केका घरहरु मात्रै भेटिन्छ काव्यको मुहान दु:ख नै हो ? कि दु:ख मात्रै हो ?  नेपाली काव्य विश्व स्तरमा नपुग्नुको कारण तपाईं के देख्नुहुन्छ ?

एउटा मान्छे आफैंमा एउटा सुन्दर कविता हो ! जीवन धेरैथोकको मिश्रण हो त्यसैले कवितामा रोनाधोना नै गर्नुपर्छ भन्ने त छैन । नेपाली कविता विश्वव्यापी नहुनुको मुख्य कारण अनुवाद हो, राम्रो अनुवाद गर्न सक्ने हो भने नेपाली कवितालाई कमजोर नै त भन्न मिल्दैन ।

 

 

कविता १)


कविता – सुदूरको पीडा

छकालै सूर्यको पहिलो धर्को इजाको निधारमा

ठोकिएपछि

अाँखा मिच्दै – मिच्दै बिउँझन्छ भासुको भीर ,

छकालै अाफ्ना गुन्टा मुन्टाउनी

राखिकन केराकेटीको उज्यालो भबिस्य खोज्न हिडेपछि कुन्ता बादिनी

मुढा बजारमा मस्तै लामो हर्न बजाउँछ एक मालवाहक

ट्रक ।

“कवितामा कविले आफू बाँचेको युगलाई एकदम सशक्त रूपमा प्रस्तुत गर्नु पर्छ। मेरो कवितामा मैले अहिलेको समाजलाई अन्याय गरेको छैन जस्तो लाग्छ । “

छकालै ,बम्मै हिडेपछि मूल्लाघरका काउजु

भाणैनी छाणीकन अाफ्ना सबै सुइना

झोक्राएर दिनभरि देउडा गाउदैँ बस्छ

तिनूल पोरकाबर्ष बम्मैबाटी ल्याको रिडियो ।

 

नबलेपछि सगियोले हिर्काएको सोलार

अथाराको झ्यालबाट ईश्वरसंग उज्यालो माग्दै

मर्छ सुदूरबस्ती

र त

यहाँ खेलीने देउडाको  हरेक पैतल- पैतलमा छ

अाँसुको लय ।

 

यहाँ चोइलो बालेर हेर्दै  गणितका ठूलासाना हिसाब

झोक्राएर बस्छन्

सकिएको  लालीगुराँस कापीको अन्तिम पानामा नानीहरू,

प्रिय काठमाडौं एकपटक सुदूर पुगि हेर त

देश भनेको मान्ठहरूको भिडमात्र होइन

देश भनेको माटोको ढिक्कामात्र होइन

देश भनेको जंगलमात्र होइन ।

 

 

कविता २)


कविता – अभाव

 

जसरी रसाउछ पहाडको छातीमा

पानीको मुहान

ठिक त्यसरी नै पसिना रसाउने पुरानो घाउको

अझै यही छ

अाफ्नै कमिजको गोजी च्यातेर देशको मुटु

सिलाउने एक अयोग्य योद्धा

टाटो छ हाम्रो छातीमा

तर यहाँ छैन कुनै खुसीको भेल बगाएर

ल्याउने कुलो ,खोला वा नदि ।

 

अझै

छ अलि -अलि अामाको सेतो सारीमा

बारूदको उड्नै लागेको गन्ध

अझै

छ बहिनीको पेटिकोटमा

महाराजको विर्यबाट निस्केको एक

घाइते क्रोमोजोम

अझै

छ बुट्टा बिग्रेको कमरेडको जुत्ताको

डोब

तर छैन यहाँ भोकको छाला  टल्काउने

कुनै इन्द्रेणी ।

 

अझै यही छ

अाफ्नै कमिजको गोजी च्यातेर देशको मुटु

सिलाउने एक अयोग्य योद्धा

अझै यही छ

देशको लयसंग मर्चपास मिलाउन  खोज्दा

भाँचिएको एउटा खुट्टा

अझै यही छ

एकाबिहानै रगतको सम्झना दिलाउन

अाकाशको निधारमा देखिने रातो सूर्य

तर छैनन् यहाँ अाकाशमा चरा जसरी उडिरहेका

परिवर्तनका ताराहरू ।

 

यही छ

नदि किनारमा

कुनै माझीले माछा मार्दा मार्दैँ छाडिगएको

बल्छी

यही छ

कालो प्लास्टिक भित्र

छट्पटाइ रहेको माछाको कंकाल

घुमाएर हेर्दा  ग्लोब

यहीँ छन् कोर्न बाँकी कयौं नक्साहरू

तर

छैन यहाँ परिवर्तनको नृत्य ,

छैन यहाँ सम्भावनाको गीत ,

छैन यहाँ कुनै सपना ,

यो सपनाको अभावमा बाँचिरहेको

गाउँ हो

यहाँका हरेक मान्छेलाई थाहा छ

सपना देख्नुको पीडा ।

 

 

कविता ३)


कविता – रूईना थारूको सुहागरात

 

यो मैन बत्तीको मधुरो प्रकाश

लजाएको रातमा ,

फुलकुमारी उठाउ अलिकति तिम्रो

घुम्टो

फालिदेउ एक किरण  मुस्कान दैलाको

गाजलु अाँखामा

अाज करेत सर्प ढोकाबाटै लजाएर

फर्कने छ ।

भोलि त दोबाटोको पिपलले

कपाल नकोर्दै

चुरेडाँडाले  अाफ्नो मुहार

खल्याङ्गमल्याङ्ग नपार्दै

एक हुल मिर्मिरे अाएर अपहरण

गरेर लैजाने छ एक उज्यालो दिन,

फुलकुमारी

धानको डाँठमा  अस्तिपञ्चर

छुटेको

जिन्दगीभर मालिककै कोदालीले

हत्केला लुटेको

रूइना थारू हाजिर छ तिम्रो अगाडि ।

फुलकुमारी अब उठाउ अाज अलिकति,

तिम्रो घुम्टो ।

 

फुलकुमारी

भोलि त दोबाटोको पिपलले

कपाल नकोर्दै

चुरेडाँडाले  अाफ्नो मुहार

खल्याङ्गमल्याङ्ग नपार्दै

एक हुल मिर्मिरे अाएर अपहरण

गरेर लैजाने छ एक उज्यालो दिन,

अनी अाफ्नो

दाईने खुट्टामा खोच्याँउदै,खोच्याँउदै

तिम्रो छेउमा अाएर खोक्ने छ

एक  थकित साँझ  ,

फूलकुमारी अब उठाउ अाज

अलिकति तिम्रो घुम्टो ।

 

अाज

स्पर्श गर घामले पिठ्युँमा

छाडिगएका पैतलाहरू माथि

स्पर्श गर

ढिग्री जस्तै बाफिएको घड्कन

माथि ,

अाद्रता नभएको यो सुख्खा सिद्रा

जस्तो शरीर माथि ,

कालो – कालो अनि नक्सा जस्तै

कच्याककुचुक परेको अोठमाथि ,

फूलकुमारी अब उठाउ अाज

अलिकति तिम्रो घुम्टो ।

 

फूलकुमारी

अाजको रात निभेपछि फेरि

फर्कने छैन कुनै मधुरो रात ।

हेमन्त शिशिर


प्रकाशित : २०७५ मंसिर २७, बिहीबार १३:४४ गते

धेरै पढिएको

ताजा समाचार