पारिजातको तीन कविता !!


पारिजात

पारिजातको जन्म दार्जिलिङको लिंगीय चिया कमानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता (के.एन. वाईबा) एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाईबा हो, तर लामाले छेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो, जुन उनी आफैले रोजेकी थिइन्। पारिजात बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी हुन् । पारिजातका कवितामा विसङ्गतिवादी, अस्तित्ववादी चिन्तन पाइन्छ । वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्। पारिजातद्वारा लिखित पुस्तक ‘शिरिषको फूल‘(मदन पुरस्कार २०२२ ) को अङ्ग्रेजी अनुवाद ‘Blue Mimosa’ लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो। उनको निधन  २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो।


 

एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता
ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको?
त्यो त हजुर आएको, गएकै थाहा छैन।

खै, जान्ने सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको ऊ त्यो
गहुँबारीमा सप्रियसक्यो रे!
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे!
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे!
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छायाँ।

ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै!
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैंसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्त्रो थियो
ए, हाँस्नुभएको हजुर त!
यसको गोडा पखालको पानी खानू साँझ बिहान
यो तेरो देउता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाउँ
गालामा आँसुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो।

ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपना जस्तै
मेरो मुटुभित्रै भएर पनि कति कति टाढा।

जै–जन्म सोध्नुभएको?
ज्यू इनै दुई छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा छ हजूर।
यो च्याँसे
मुखियाको घर बनाउने ढुंगा बोक्दा–बोक्दै पाएकी
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेँ
फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरुलाई
कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा?
ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर र सुँगुरका बच्चाहरु जस्तै।

ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा?
म पनि त चायाँ र कलेटीले
तर्साउने जस्तै भइसकेँ
के म स्वास्नीमान्छे जस्ती छु र?
ल फेरि हाँस्नुभयो हजूर त!
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ र फलामको रङ
एउटै छ हजूर!
च्याँसे–पुन्टेको छालाको रङ र बाटोको धुलोको रङ
एउटा छ,
म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ
र मेरो आँसुको रङ
एउटै छ हजूर!
ज्यू, ज्यू काम गर्नेहरुले खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु हजुर!


 

बलात्कृतको बयान
जंगली फूलहरु फुलेको भिरालोमा
पैतालाको काँडा झिक्तैथेँ, हजूर!
बाघ चितुवाको शिकार
खेले जस्तो होइन
मान्छेहरु जस्तै
मान्छेहरुले जस्तै
सुसेल्दै, गीत भन्दै
छिल्लिँदै र जिस्किँदै
बनपाले र उनका मतियारहरुले
मेरो ज्यानसँग
जथाभावी गरे
मेरो इज्जत सबै लुटे
मलाई रक्ताम्मे पारे
काल नआएकी म
मर्न सकिनँ, हजूर।
माइती एकादेशमा
लोग्ने निम्छरो
ठूला–बडाको मुख हेरी
गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर।
बाहिर मेरो रक्षे गर्ने कोही छैन
मलाई ऊ… त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर!
झ्यालखानाभित्र।


 

जुठी दमिनीको अभिव्यक्ति

जदौ हजूर… !
मालिक अलिक टाढै बस्नुस्
नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी
न जेठी न कान्छी
न ठूली, न सानी
गरिबको घरमा बत्ती बलेकी थिएँ, हजूर बत्ती।

तर कर्मकी खोटी
अलच्छि मोरी
बाह्र वर्ष नपुग्दै
पोली खाएँ बा–आमा
असारको पैह्राले किचेर
एकै चिहान परे कठै
हाट भरेर फर्केकाहरु।

कहाँ जाने अभागिनी!
आँखाको सोझी
मावल हुत्तिएकी।
सौतेनी माइज्यू
छोरीको रुपमा यो त डंकिनी रहिछ
आमा–बाबु ज्यूँदै खाई भन्दै
भुत्ल्याउने गर्थी।

हजूर मालिक, मेरो बिहे भएको होइन
ढाँटेर के हुन्छ!
सौतेनी माइज्यूले उसैको भाइको सौता हालिदिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न आएकी
पन्ध्र पुगेर सोह्र मात्र टेकेकी।

ऊ त्यो लालुपातेको फूल जस्तै थिएँ हजुर
यो दमिनीको कत्रो रुप भनी
र्‍याल काट्थे बूढा विष्टहरु।

मालिक हजूर! कसैको जूठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनमै
मुखेनीले न्वारान गरिदिई
जुठी, जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइला आएकी
म जुठी कान्छी।

पुर्पुरोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन्
हाम्लाई यस्तो माया पिरती क्यै थाहा छैन हजुर
आइमाईको जातले छोराछोरी पाउनु
कुन महाभारत भयो त!

टालाटुली बटुली
आफैले सिलाकी यो चोली
जुम्रा पर्छ घरीघरी
केलाउन पस्नपर्छ कुनाकानी।

लाज शरम एउटै हो हजूर आईमाई जात सबैको
रुझ्नु, भिझ्नु, चिसिइनु, खट्नु
सुक्खा खोकी लाग्छ ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन बाँच्ने मन छैन मालिक।

साह्रै नै बाँझो भएको छ,
ऊ त्यो बनमारा फैली झ्यामिएको पाखा जस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोतिदिनुस् क्यार
जदौ हजुर…।
बीउ छर्न लायक बनाइदिनुस् क्यार।


प्रकाशित : २०७५ मंसिर २५, मंगलवार १७:३३ गते

धेरै पढिएको

ताजा समाचार