७ फेब्रुवरी १९०९ मा वार्सा, पोल्याण्डमा जन्मिएकी ‘अन्ना स्विर’को वास्तविक नाम अन्ना स्विर्सज्येन्स्का हो ।

Anna Świrszczyńska
अन्ना दोश्रो विश्वायुद्दताका नाजी सेनाले पोल्याण्ड कब्जा गर्दाताका प्रतिरोधमा संलग्न थिइन् । उसो त् वार्सा विद्रोहका बेला सैनिक नर्स भएर काम गरेकी अन्नाले त्यसै समयमा एक घण्टासम्म घोषित मृत्युदण्डको पालो पर्खेर बसेकी थिईन, र पछी त्यसै छाडीइन् ।
उनका कविता पढ्दै गर्दा जीवन भोग्दै गर्दा आइपर्ने जीवन दर्शन साथसाथै नारी शरीर र यौनका विषयमा कलात्मक अभिव्यक्तिहरु पाउन सक्छौं ।
समुन्द्र र मान्छे
बाँध्न सक्नेछैनौ तिमीले यस समुन्द्रलाई ।
न त विनम्रताले,
न त आक्रोशले नै ।
उसको खिसी गरेर हाँस्न भने सक्नेछौं तिमी ।
हाँसोकै खित्काजस्तै क्षणिक बाँच्नेहरुले
पत्ता लगाएका हुन्,
हाँसो ।
यो सनातन समुन्द्रले
हाँस्न कहिल्यै सिक्ने छैन ।
४ फेब्रुवरी १९०० मा नोई स्यु सेन, फ्रान्समा जन्मेका ‘ज्याक प्रेभेर’ पेरिस सहरमै हुर्केबढेका हुन् ।

Jacques Prévert
सन् १९४५ उनको पहिलो कवितासंग्रह पाहोल्स(शब्दहरु) प्रकाशित भयो, जुन सर्वत्र प्रशंसित भयो साथासाथै ५ लाख प्रति बिक्री पनि भयो । फ्रान्सको इतिहासमा कुनै पनि पुस्तक त्यति धेरै संख्यामा बिक्री भएको त्यो नै पहिलो अवसर थियो । उनका ‘स्पेक्ताक्ल'(परिदृश्य), ;ला प्लुइ ई ले बो तम'(वर्षा र मनोहर मौसम) लगायतका चौधवटा संग्रहहरु प्रकाशित भएका छन् ।
फोक्सोको क्यानसरको कारण ११ अप्रिल सन् १९७७ मा फ्रान्सको ओमोनभिल्ल ला पुतितमा उनको मृत्यु भयो । मृत्यु पश्चात उनका दुइवटा कवितासंग्रहहरु प्रकाशित भएका छन् ।
तिम्रो लागि, प्रिये !
म बजार गएँ, चरा पाइने ठाउँमा
र मैले चराहरु ल्याइदिएँ
तिम्रा लागि ।
म बजार गएँ, फूल पाइने ठाउँमा
र मैले केहि फूल ल्याइदिएँ
तिम्रा लागि ।
म बजार गएँ,सिक्री पाइने ठाउँमा
र मैले सिक्री ल्यादिएँ
तिम्रा लागि ।
र, त्यसपछि म दास बेच्ने ठाउँमा गएँ
तिमीलाई खोजें
तर भेट्टाईन् त्यहाँ तिमीलाई, प्रिय ।

Mahmoud Darwish
१३ मार्च १९४१ मा अल बिर्वा, प्यालेस्टाइनमा जन्मिएका ‘महमुद दरविस’को जन्म मुसलमान परिवारमा भएको थियो । राजनैतिक क्रियाकलापमा संलग्न भएको र सार्वजनिकरुपमा कविता सुनाउँदै हिँडेको आरोपमा युवा अवस्थामै महमुद अनेकौंपल्ट नजरबन्द र थुनामा बसेँ ।
पहिलो कवितासंग्रह’असाफिर बिला अज्निहा”(पंखरहित पंक्षी)ले नै उनलाई प्यालेस्टाइन भरिकै सर्वाधिक प्रखर कविको रुपमा स्थापित गरायो । उनका तीस वटा कवितासंग्रह र अन्य आठ वटा पुस्तक प्रकाशित छन् ।
मुटुको शल्यक्रिया गरिएको तिन दिन पश्चात ९ अगस्ट सन् २००८ मा संयुक्त राज्य अमेरिकाको हस्टनामा उनको निधन भयो । उनलाई उनको इच्छामुताविक प्यालेस्टाइन नै लगेर अन्तिम संस्कार गरियो । भनिन्छ, महमुदको अन्तिम संस्कारमा सम्पूर्ण प्यालेस्टाइनी जनता नै उर्लिएर आएझैं देखिन्थ्यो र उनका मलामीहरुको संख्या नेता यासिर अराफातका मलामी जती नै थियो ।
म त्यहीको हुँ
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
उसकी आमाको काखसम्म पुर्याइदिएथें
र आफुलाई बादलले चिनोस् भनेर रोएँथे ।
मातृभूमि
म त्यहीको हुँ ।
जीव जन्मिए जसरि जन्मिएका मेरा स्मृतिहरु छन् ।
मेरी एउटी आमा हुनुहुन्छ, र झ्यालैझ्याल भएको एउटा घर छ,
मेरा दाजुभाइ छन्, साथीहरु छन्,
र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिंडी छ ।
समुद्री चराले खोसेका तरंगहरु छन् मेरा,
मसँग मेरो आफ्नै सोचाइ
र घाँसको थप एउटा त्यान्द्रो छ ।
शब्दहरुको पल्लो किनारमा हाँसीरहेको जून मेरो हो,
र चराहरुको अप्रितम कोसेली
र ओलिभको अज्मबरी रुख मेरो हो ।
यसको जिउँदो शरीरलाई
तरवारहरुले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि
हिँडेको हुँ म यो भूमिमा ।
म त्यहीको हुँ
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
उसकी आमाको काखसम्म पुर्याइदिएथें
र आफुलाई बादलले चिनोस् भनेर रोएँथे ।
नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरु सिकें मैले
जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए ।
मैले सबै शब्दहरु सिकें र भत्काएँ तिनलाई
ए बनाएँ एउटा शब्द – ‘मातृभूमि’ ।
सन्दर्भ सामग्री:- विराटनगरका युवा कवी सुमन पोखरेल(Suman Pokhrel)द्वारा संकलित विदेशी कविहरुको नेपालि भाषामा अनुवादित कविता(अनुवादसंग्रह) ‘मनपरेका केहि कविता(An anthology of poems in Nepali translation), जसलाई शिखा बुक्सले २०७४ मा प्रकाशनमा ल्याएका हो ।


