वि.सं. १९८२ सालको असार १० गते काठमाडौँको ओमबहालमा जन्मेका विजय मल्ल मुलत: कलाकार, राजनीतिज्ञ, चित्रकार,खेलाडी, अभिनेता र त्यसपछि साहित्यकार हुन्; सायदै यो कुरा हामीलाई थाहा छ ।

विजय मल्ल
दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन समयको प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा खेपेका झपारले प्रशंसित भएका विजय मल्ल प्रजातान्त्रिक आन्दोलनमा दुई दुई पटकसम्म जेल सजाय भोगे । यसको पछाडीको कारण थियो, युवाअवस्थाको जोश र साथमा प्रभावशालि भाषणकला । टोलका केटाहरू अघिपछि लगाएर डुलीहिड्न मनपराउने मल्ल ‘हुल्याहा’ प्रवृतीको थिए नै । फेरि फुटबल, क्यारेम जस्ता खेलका च्याम्पियन पनि थिए ।
“नाटकलाई म सर्वसाधारणसम्म पुग्ने सजिलो माध्यम ठान्दछु, अक्षर पढ्न नजान्नेलाई पनि नाटकले छुन्छ । रङ्गमञ्चमा प्रदर्शित नाटकहरुलाई हेरेर ती प्रभावित हुन्छन् ।”
बुझ्ने नसकिने चरित्र र स्वभावका मल्लले नाटक लेख्नुको पछाडिको राज यसरि खुलाएका छन्, “नाटकलाई म सर्वसाधारणसम्म पुग्ने सजिलो माध्यम ठान्दछु, अक्षर पढ्न नजान्नेलाई पनि नाटकले छुन्छ । रङ्गमञ्चमा प्रदर्शित नाटकहरुलाई हेरेर ती प्रभावित हुन्छन् ।”, नाटकको पछि लागेर रङ्गमञ्चमा पर्दा चलाउने काम पनि गरेका मल्लको अन्ततः चिनारी बन्यो ‘एक ठूला साहित्यकार’का रुपमा । यो प्रसंग आफैमा उनकै चरित्र र स्वभाव जस्तो नबुझिदो त् छदैं छ । त्यसको अलावा आसेपासेको आडभरोसा, कुनै पनि राजनैतिक करकाप, प्रचारप्रसार र तामझाममा नलागिकन निरन्तर साहित्य सिर्जनामा साधानारत रहेका हुनाले नै हो; मल्ल नेपालका केहि त्यस्ता लेखकहरु मध्ये पर्दछन्, जसका बारेमा प्रसंशा गरेर नेपाली पाठक कहिल्यै थाक्दैनन् ।
‘अनुराधा’ उपन्यास लेखेर उपन्यासको क्षेत्रलाई अर्कै उचाइमा पुर्याएका मल्लले ‘कोही किन बरबाद होस्’ नाटक लेखेर नेपाली नाटक क्षेत्रलाई पनि एउटा बेग्लै शिखरमा पुराए । उसैगरी ‘परेवा र कैदी’ नेपाली कथाक्षेत्रको एक उत्कृष्ट कथाकृति हो । ‘छोरीलाई मानचित्र पढाउँदा’ कविताले लेखेर कविताको शिखर चुमेका मल्लको ‘पत्थरको कथा‘ उत्तीकै शशक्त एकाङ्की सङ्ग्रह हो ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उप कुलपति, नेपाल लेखक सङ्घका सचिव, साहित्य संस्थानका उपाध्यक्ष, गौरीशंकर नाट्य समुदायका सचिव समेत भएका मल्लको ‘एक बाटो अनेक मोड’ कथासंग्रहलाई २०२७ सालको साझा पुरस्कार पनि दिइएको थियो । सबै साहित्यिक विधालाई उत्तिकै प्रेम गर्ने मल्लको प्रकाशित कृतिहरु पढीरहँदा नाटक विधाप्रति उनको अलिक बेसी झुकाव थियो कि झैँ देखिन्छ ।
नेपाली साहित्य जगतको मूर्धन्य साहित्यकार विजय मल्लको ७४ वर्षको उमेरमा वि.सं. २०५६ साल साउन ८ गते काठमाडौ मै निधन भएको हो !
प्रस्तुत छ उनको एउटा कथा “अन्तिम भोज”
—“अन्तिम भोज”—
अन्धाकार, निर्जन, डरलाग्दो एकलासे जङ्गलबाट पार गर्दागर्दै अकस्मात म एक यस्तो ठाउँमा पुगेँ- जहाँ उज्यालो नै उज्यालो थियो । म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दु:खकष्टहरु सबलाई बिर्सेर म दौडँदै हुत्तिदै त्यस ठाउँमा पुगेँ,जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भैइसकेको थियो। त्यसैले म व्यग्र थिएँ ।
त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठुलो भोज त्यहाँ भैरहेको रहेछ । जतातै रंगीचंगी, निला, राता, पहेँला, हरिया, सेता बत्तिहरु बलिरहेका रहेछन । ठुलो चौर जसका चारैतिर कलापूर्ण बगैंचा, उज्यालोमा जगमगाइरहेको छ, विभिन्न प्रकारका रंगीबिरंगी फूलहरु सुगन्ध छरेर ब्युझिंरहेका छन्, र त्यो भन्दा पनि बढी विभिन्न रंगका पोसाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुको ठुलो जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन्, ति सुगन्धित फूलहरु भन्दा पनि ति अति आकर्षक थिए । मलाई यस्तो लाग्यो, स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गए ।
हरियो कोमल दुबोहरुका ठुलो फाँटमा, श्रेणीबद्द रुपले टेबिल, मेच, कुर्सीहरू लगाइएका रहेछन्, र हरेक टेबिलका मध्य भागमा फुलादानमा फूलहरु मुस्कुराइरहेका छन् । प्रत्येक टेबिलमा एक-दुइ सेता पोसाक लगाइएका ब्वाय्हरु खानेकुराहरु किस्ती बोकेर उभिएका छन्, कोहि यताउति किस्ती बोकेर घुमी रहेका छन् । मलाई अत्यन्त भोक लागेको थियो ।
त्यसैले भोज भन्ने थाहा पाउँदापाउँदै लाजै पचाएर म त्यस भित्र पसे । नजिकै पुगेपछि मैले चाल पाए, ति व्यक्तिहरुको लवाई, बोलाई, र रुप रङ्ग एकैप्रकारका रहेनछन् । कोही अमेरिकनजस्तो, लाग्यो कोही रुसीजस्तो, कोही जर्मन, कोही चिनियाँ, कोही भारतीजस्तो, कोही अफ्रिकन नेग्रो, कोही इजिप्सियन, इरानी, कोही आइसल्याण्डीस् ब्रिटिसजस्तो । सारा संसारभरका जातिहरु म्युजियममा सिँगारिएर थपक्क राखे झैँ ति मानिसहरु- मैले उनीहरुलाई सरसरती हेरेँ र खुसीले आफू दङ्ग हदै उनीहरुका माझमा पुगे । विश्वका सम्पूर्ण रास्ट्रहरुका मानिसहरु जमघट भएको ठाउँमा पुग्नु मात्र पनि म जस्ताका लागि ठुलो पर्व थियो त्यसैले भोजको निम्तो आफूसँग नभएकोमा मैले संकोच पनि मानिन र त्यसै पसिदिएँ ।
तैपनि पाहुनाहरुका हूलमा मिसिन मलाइ अप्ठ्यारो लाग्दै थियो । एउटी राम्री अर्धवक्ष खुला आइमाइले हात समाएर अरुसँग तान्दै अंग्रेजी भाषामा भनि लौ एक नवआगन्तुक आइपुग्यो, नयाँ देशबाट र मलाई सोधिन- “कुन देशका हौ ?”
मैले भने – “नेपाल ।”
सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूलाठूला अणुबमहरु एकै चोटी एकै समयमा विस्फोट गरिनेछ र पृथ्वीलाई टुक्राटुक्रा पारेर ब्रम्हाण्डमा हुर्याएर मिल्काइनेछ, पृथ्वीको अन्त्य गरिनेछ । मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ ।
तिनले मलाइ टेबिलटेबिलमा लगेर विभिन भाषाहरुमा बोल्दै चिनाइन । मैले सबसँग हात मिलाएर अभिवादन गरें । त्यहाँ नभन्दै संसारभरका विशिष्ट र प्रसिद्द मानिसहरु जम्मा भएका रहेछन्, ठुला ठुला नेता, रास्ट्रपति, प्रधानमन्त्री, कवी, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्रध्यापक, उद्दोगपति, प्रबन्धक आदि । उनीहरुका माझमा मलाई आफु अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिईरहें । तिनले मलाइ जताजता तान्दै लागिन् त्यतैत्यतै लाग्दै रहे ।
आखिर तीनचार जना मात्र भएको टेबिलमा उभाएर तिनले मलाई भनिन्- “यै टेबिलमा बसेर आजको अन्तिम भोज मनाऔं हुन्न ? लौ लेउ यो ब्रान्डीको गिलास ।” गिलास हातमा लिँदै आफ्नो आत्मीयझैं सम्झेर मैले तिनीसँग लाज नमानी सोधें- “आज साच्ची यो के को भोज, भन्नोस् ।” आश्चर्य मान्दै तिनले मतिर विस्फारित लोचनले हेरेर अरुसँग हाँस्तै भनिन्- “हेर यो कस्तो अनौठो मानिस, आज केको भोज भनेर पो सोध्छ ।” मतिर हेरर नपत्याझैं गरि तिनले सोधिन्- “साँच्ची आज केको भोज तिमीलाई थाहा छैन ?” मैले लजाएर उत्तर दिएँ- “म त घुम्दै आएको यहाँ आइपुगेँ, मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको, मसँग निम्तो पनि छैन । म के गरूँ, म जाऊ कि ?” म लाजले मरेतुल्य भएको थिएँ । म चोर पकडीहाले ।
तिनले हतारिएर झटपट भनिनन्- “हैनहैन, बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु सुन, म तिमीलाई बताउँछु -“आज यो विश्वमा नै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउने छैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैन । थाहा पायौ ?”
मैले थाहा पाएझैं टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरि लज्जान्वित हुनुपर्ने नै थिएन ।
तर तिनी उल्लासित हुँदै भन्दै गइन्- “यो पृथ्वीमा कहिल्यै रात पर्दैन; यहि अन्तिम रात हो । यहाँ संसारका सम्पूर्ण रास्ट्रका उच्च पदाधिकारीहरुदेखि लिएर महान् व्यक्तिहरु सब जना जम्मा भएका छन् एउटा उद्देश्यले, एउटा अभिलाषाले । यस्तो एक मत अहिलेसम्म विश्वका रास्ट्रहरुमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरी कहिल्यै दोहोरिने पनि छैन । सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूलाठूला रास्ट्रका रास्ट्रपति प्रधानमन्त्रीहरुले आफ्नो देशमा यस्ता परमादेश पठाउने छन् कि उनीहरुका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूलाठूला अणुबमहरु एकै चोटी एकै समयमा विस्फोट गरिनेछ र पृथ्वीलाई टुक्राटुक्रा पारेर ब्रम्हाण्डमा हुर्याएर मिल्काइनेछ, पृथ्वीको अन्त्य गरिनेछ । मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एक मात्र अन्तिम रातमा यसरी यो प्रीतिभोज मनाईदै छ । आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सव मानाऔं ।”
तिनले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाइन, अरुहरुले पनि गम्भीरतापूर्वक त्यसै गरे ।
तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ? आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालें । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनाश हुनेछ- म यो कुराले लखेटीदै भोकै भाग्दै छु, दौडदै छु । मेरो प्यारो पृथ्वी, मेरो प्यारो धरती भोली रहन्न । उफ् । भोलि रहन्न ! म माटो सुँघेर भाग्दै छु ।
(‘एक बाटो अनेक मोड’ कथासंग्रहबाट)


