हतार छैन / कवि नयन अधिकारी


 

म पालो पर्खिएरै
चढाउछु ईस्वरलाइ फूलपाती
पालो आएपछि थाप्छु मन्दिरको प्रसाद
तपाईंलाई हतार छ???

घुचेटेरै अघि बढ्नुस्
मलाई हतार छैन।

नयन अधिकारी
भरतपुर , चितवन

म लाइन बसेरै तिर्छु
खानेपानी , बिजुलीको महसुल
बच्चाको स्कूलको मासिक शुल्क
धनीपुर्जा बोके बापत सरकारलाइ कर

म पालो पर्खिएरै
चढाउछु ईस्वरलाइ फूलपाती
पालो आएपछि थाप्छु मन्दिरको प्रसाद
तपाईंलाई हतार छ???

घुचेटेरै अघि बढ्नुस्
मलाई हतार छैन।

म दिनभर पर्खिएरै लिन्छु ।
सरकारी अस्पतालको टिकट
दिनभर डाक्टर पर्खिएरै गराउछु उपचार

किनकि ,अझैपनी
म जस्तै पालो पर्खिएर लाइन बसिरहेको छ
केही कार्यलयहरुमा मेरो योग्यताको प्रमाणपत्रहरु।

तपाईं संग पावर छ? छ भने लगाउनुस्
मलाई हतार छैन।

अलिकता हतार-
राहदानी बनाउने मात्र हो।
नत्र हतार छैन।
मलाई दस बजे भित्रमा पुग्नु छैन र निस्कनु छैन पाँच बजेपछि
यो शहरको ट्राफिक जाम छिचोल्दै, म झुन्डिएरै पुग्छु लोकल बसमा।
तपाईं चढ्नुस महगो गाडी
मलाई हतार छैन।

अलिकता
हतार भनेको
मेरो देश जस्तै बिरामी आमालाइ
खुवाउनु छ दालको झोल
पुग्नु छ – दवाइ भन्दा अगाडि
अस्पतालको कोठा नं: २९ को बेड नं ३ मा।

सरकार हराएको देशमा
स्वभाविक रुपमा हराउदो रहेछ
नियम , कानुन र नैतिकता पनि
यहाँ दिउसै हराउँछन , मारिन्छन् हजारौ निर्मलाहरु…

हतार छैन देशको प्रहरी प्रशासनलाई
र हतार छैन गृहमन्त्री लाई

सधै हतार नहुने “लाई पनि यो बेला हतार हुने रहेछ

लगेजमा थोरै गुन्द्रुक ,थोरै भट्टमास
एकथान बा आमाको तस्बिर,
र पर्सको एक कुनामा म जस्तो हतारै नहुने मान्छेलाइ
हतार गरेर मन सुम्पनेको तस्बिर राखेर
पखेटा काटिएका परेवाहरु जस्तैः

माथी माथी कतै माथी उड्ने हतार छ।

 


प्रकाशित : २०७५ मंसिर ९, आईतवार १६:३३ गते

धेरै पढिएको

ताजा समाचार