!! ‘विनोद विवश’को तीन गजल !!


२०४९ फाल्गुन १८ गतेका दिन जैमिनि न.पा ०१, बागलुङमा जन्मिएका हुन, विनोद विवश । व्यवस्थापन संकाय(दोस्रो सेमिस्टर) तर्फबाट त्रिभुवन विश्वविद्दालयमा स्नातकोत्तर तहमा अध्धयनरत ‘विवश’ पढाई सँगसँगै  साहित्यिक क्षेत्रमा पनि अग्रसर छन् । आफूलाई ‘लेख्न रुचाउने साधारण लेखक’ भन्न रुचाउने विवश नेपाली साहित्य जगतको गजल क्षेत्रमा बढी सक्रिय छन् ।

Binod Bibash

Binod Bibash

गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाई कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने एक काव्यिक विधा हो ।

‘गजल के हो ? र,तपाइँ स्वयं एक गजलकार भएको नाताले गजललाई कसरि अर्थाउनु हुन्छ ?’, भनेर हामीले सोधेका थियौं !

उनि भन्छन, “गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाई कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने एक काव्यिक विधा हो । अझ यसो भन्न पनि सकिन्छ, गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक  पुरानो लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।“

सँगसँगै उनि यो पनि थप्छन, “पहिले पहिले गजल भनेको प्रेमी र प्रेमिकाबीचको वार्तालाप् जस्तो मात्रै देखिन्थ्यो  । तर अहिले गजलको परिभाषा फराकिलो भएको छ । माया/प्रेममा मात्र सीमित नभएर यसले जुनसुकै क्षेत्रमा पनि आफ्नो अस्तित्व प्रमाणित गरिसकेको छ ।

वास्तवमा गजल भनेको मनको भावना हो र यसले हरेक संवेदनशील क्षेत्रमा प्रहार गर्नुपर्छ भन्ने मेरो बुझाई हो ।“

कविता र गजलमा के फरक पाउनुहुन्छ ?

गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ। गजलको शेरमा गीत र कवितामा जस्तो या भनौं अन्य साहित्यिक क्षेत्रमा जस्तो कपोकल्पना गरिएको पाइदैन । यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ ।

 

प्रस्तुत छ उँहाको तीन गजल:-

♠♠♠♠♠♠♠

जुन दिन देखि माछो नदीको पानीमा बस्यो
त्यही दिन जाल बोकेर माझी निगरानीमा बस्यो

कसैलाई पाउनु सजिलो छैन यहाँ बुझिराख्नु
धेरै चक्कर लगाए पछि घिउ मदानीमा बस्यो

थाहा भो ! प्रहार गर्ने शिकारी आफन्त हो भन्ने
ओझेल परेको शिकार आँफै निशानीमा बस्यो

मन परेको एउटै मान्छे, किस्मतमा अटाएन
कोही यसरी पनि त मेरो जिन्दगानीमा बस्यो

केही उपाय नभेटे पछि आफ्नै गाउँ फर्केको हुँ
बस्न त यो ज्यान वर्षौं सम्म राजधानीमा बस्यो !!

गजलको शेरमा गीत र कवितामा जस्तो या भनौं अन्य साहित्यिक क्षेत्रमा जस्तो कपोकल्पना गरिएको पाइदैन । यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ ।

♠♠♠♠♠♠♠

अरुको कमजोरीलाई आफ्नो भर बनायो
कोइलीले न बच्चा हुर्कायो न घर बनायो

उपचार नपाएर मरेको छ त्यही बाउ आज
जसले मृगौला बेचेर छोरो डाक्टर बनायो

मलाई अचम्म लाग्छ सोचेर नै एउटा कुरा
आफूले चाख्यो कि नाइँ जसले जहर बनायो

अरु कुराहरु हतारमा बनाएछ बनाउनेले नै
एउटा ‘तिमी’ अर्को ‘चाँदनी’ सुन्दर बनायो

पोख्त भएछ ऊ प्रेमिकाको चियो गर्दा गर्दै
सरकारले सम्मान गर्यो सिधै गुप्तचर बनायो !!

 

वास्तवमा गजल भनेको मनको भावना हो र यसले हरेक संवेदनशील क्षेत्रमा प्रहार गर्नुपर्छ भन्ने मेरो बुझाई हो ।“

♠♠♠♠♠♠♠

 

नभन्नु भन्दै श्रीमतीको कानमा पुर्याउनु पर्छ
कुनै कुनै कुरा यसरी मैदानमा पुर्याउनु पर्छ

एउटा अडान लिएको छ यो मेरो सरकारले
दिनमा हजार युवा मुगलानमा पुर्याउनु पर्छ

भाँडा धुने बुहारी हो आमाले खोजेको घरमा
तिमीलाई त खाना ओछ्यानमा पुर्याउनु पर्छ

सबैसँग यति धेरै दुश्मनी पनि नराखेको राम्रो
मरेपछि कसै न कसैले चिहानमा पुर्याउनु पर्छ

ढुङ्गालाई बालुवा बनायो नदीले प्रहार गर्दागर्दै
हेर्नुस् दुश्मनलाई कसरी ठेगानमा पुर्याउनु पर्छ !!

Binod Bibash


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १७:२७ गते

धेरै पढिएको

ताजा समाचार