एजेन्सी। न्यूजिल्याण्डकी महिला क्रिकेटर सुजी बेट्सले महिला मात्र नभइ पुरुष क्रिकेटका रेकर्डहरुलाई समेत ध्वस्त पार्दै नयाँ विश्वरेकर्ड बनाएकी छिन् । उनी क्रिकेट जगतमै टि–२० अन्तर्राष्ट्रियमा ३ हजार रन बनाउने एकमात्र क्रिकेटर बनिन् । सुजीले आइसीसी महिला टि–२० विश्वकपमा आयरल्याण्डविरुद्ध ब्याटिङ गर्दै यो ऐतिहासिक उपलब्धी हासिल गरेकी हुन् ।
अहिलेसम्म कुनै पुरुष क्रिकेटरले समेत यो उपलब्धी हासिल गर्न सकेका छैनन् । पुरुष क्रिकेटमा सबैभन्दा धेरै टि–२० अन्तर्राष्ट्रिय रन बनाउने क्रिकेटर न्यूजिल्याण्डकै मार्टिन गुप्टिल हुन् । उनले २२७१ रन बनाएका छन् । सुजी महिला र पुरुष दुवैतर्फ सबैभन्दा धेरै टि–२० अन्तर्राष्ट्रिय खेल्ने खेलाडीको सूचीमा पनि शीर्ष स्थानमा पुगेकी छिन् । सुजीले दुवैतर्फ सबैभन्दा धेरै १०८ खेल खेल्दै शीर्ष स्थानमा रहेका पाकिस्तानका शोएब मलिकसँग बराबरी गरेकी छिन् ।
सुजीले अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार ७ टि–२० रन बनाएकी छिन् । बेट्सले १०८ खेलका १०५ इनिङमा ३०।६८को औसतले ३ हजार ७ रन बनाएकी हुन् । उनको उच्चतम स्कोर १२४ नटआउट छ र स्ट्राइक रेट १११।९५ छ । उनले करिअरमा २० पटक ५० रनभन्दा बढीको इनिङ खेलेकी छिन् र १० पटक शुन्यमा आउट पनि भएकी छिन् ।


