२०५३ साल जेठ २९ गते बुट्टार -१, गण्डकी गाउँपालिका, गोरखामा जन्मिएका ‘योगेश घिमिरे’ हाल तिनकुने काठमाडौंमा बस्ने गर्दछन । ‘पिपुल्स क्याम्पस’मा व्यवस्थापन संकायमा स्नातक अध्धयनरत घिमिरे आफ्नो अध्धयनसंगसंगै साहित्यमा पनि गहिरो रुचि राख्दछन् ।
मानवता मात्रै अंगालेर लेखिएको कविता हृदयले लेखिएको कविता हो,
Yogesh Ghimire
त्यसमा भाव पक्ष मात्रै राम्रो हुन्छ ।
- ’कवीता के हो त् ? कवी को हो झैँ लाग्छ?’ भनेर हामीले उनलाई सोधेका थियौं !
उनि बताउछन,” सामान्य रुपमा भन्नु पर्दा कविता भनेको भावनाहरु अभिव्यक्त गर्ने माध्यम
हो । भावना यस अर्थमा कि कविताले कविको मनस्थिति देखि लिएर देशको परिस्थिति, प्रेम देखि लिएर युद्ध सबै समाविस्ट गर्छ र गरिनु पर्छ । कवी एक आम मानिस हो, जो आफ्नो र आफु जस्तै आम मानिसहरुको आम भावनाहरुलाई काव्यिक स्वरूप दिन्छ ।”
संगसंगै उनि यो पनि थप्छन, “आफ्नो भावना, अनुभूति, कल्पना, भोगाई, अवलोकन आदि को लिखित अभिव्यक्ति भनेको नै कविता हो ।”
- एक पक्ष भन्छन,” कवितामा मानवता हुनुपर्छ ! मानव जीवनकै परिवेश भित्र रहेर अध्धयन गरि लेखिनुपर्छ ।” फेरी अर्काथरी यो पनि भन्छन,” कविता भनेको विद्रोहात्मक हुनुपर्छ ! यसले समाज परिवर्तन गर्नैपर्छ ।” तपाइँ के भन्नुहुन्छ ?
“होइन,.यति मात्रै पनि होइन । एउटा अर्को एक जमात पनि छ जसले कवितामा मानवता संगसंगै विद्रोहात्मकता पनि अँगालेका छन् । मानवता मात्रै अंगालेर लेखिएको कविता हृदयले लेखिएको कविता हो, त्यसमा भाव पक्ष मात्रै राम्रो हुन्छ । र, जब विद्रोहात्मक कविता लेखिन्छ, त्यसमा कला पक्षमा उत्कृस्टता हुन्छ । यो मस्तिष्कद्वारा घटित हुन्छ । दुवै पक्ष आगालेर लेखिएको कविता साचो अर्थमा साचो कविता हो । म एउटा कुरा भन्छु, ‘हृदय र मस्तिष्क दुवैको जहाँ बराबरी संलग्नता हुन्छ, त्यो चाइ कविता हो ।‘…त्यस्ता कविताहरु युगयुगसम्म बाच्छन् !..बाचिरहेका पनि छन् ।“
प्रस्तुत छ उहाँको तिन कविताः-
मौसम
**
आजको मौसम रामबिलासको कछाड जस्तै देखिन्छ
धमिलो
कहाँ गयो होला
मनमायाको मुस्कान जस्तै जुन
कता लागे
चकचके बच्चा जस्तै टिमटिम गरिरहने ताराहरु ?
दु:खका वक्ररेखाहरु छाएकाछन आकाशभरी
यस्तो लाग्छ
रुन ठिक्क परेको छ बादल ।
आजको मौसम
बर्षान्त बारेको घर जस्तै देखिन्छ
सन्नाटामा पुरिएको ।
“म एउटा कुरा भन्छु, ‘हृदय र मस्तिष्क दुवैको जहाँ बराबरी संलग्नता हुन्छ, त्यो चाइ कविता हो ।‘…त्यस्ता कविताहरु युगयुगसम्म बाच्छन् !..बाचिरहेका पनि छन् ।”
कागहरुको सहर
**
कुहिएपछि मानव विचारहरु
डुङ्डुङ गनाउदोछ यो सहर
खन्डहर बनेको छ
कुहिएर आदिम सभ्यता
अचेल यो सहरको आकाशमा
कागहरु राज गर्छन्
माथी बाटै हेर्छन बेतिथी
र माथिबाटै फर्कन्छन
पित्त बिस्ट्याएर
जमिनमा ब्वाँसाहरु सल्बलाउछन
रखवाली गर्छन् सिनु बनिसकेको सभ्यता
जसरी दुधको रखवाली गर्छ बिरालो !!!
मानिसहरु आफ्नै बिलयको कारक बनेकाछन
सुम्पिएर सत्ता कागहरुलाई
ब्वाँसाहरुलाई ।
राजधानी छिरेको बिर्खे
**
हस्तरेखाहरु साहुको जिम्मामा छोडेर
एउटा दुब्लो मानुस
भालेको डाँक अघि नै
लुसुक्क सहर पस्छ।
सहरमा
उसले कमाउनुछ
र सबैभन्दा पहिले फिर्ता लिनुछ
आफ्नै हत्केलाको स्वामित्व
अनि किन्नुछ
आकाशले रोएर नबिथोल्ने निन्द्रा
जमानि बसेको
मंगलसुत्र छुटाउनुछ
छोरोको सपनाहरु किन्नुछ ।
आमालाई सास फेर्नै नदिने
ज्याद्रो दमको ओखती
बाको फुटेको हातको मलम
….
अहो !
किन्नुपर्नेहरु धेरै छन्
सोच्दा सोच्दै उ सहरको मुल चोकमा पुग्नेछ
लापरबाह लात बजार्दै स्वागत गर्नेछ समय
र थपिईनेछ
सपनाहरुको भिडमा
एक अर्को सपना !!
Yogesh Ghimire



