ओलम्पिक छनोट : नेपालले म्यानमारलाई बराबरीमा रोक्यो


काठमाडौं – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूहको दोस्रो खेलमा आयोजक म्यानमारसँग १- १ को बराबरी खेलेको छ ।

यस नतिजासँगै नेपाल अंक तालिकामा तेस्रो भएपनि छनोटको सम्भावना जीवित रहेको छ ।फिफा वरियतामा नेपालभन्दा ६४ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले खेलको सुरुवाती समयमै अग्रता लिएको थियो । नेपालको लागि खेलको दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेल सुरु भएको ४३ सेकेन्डमै म्यानमारकी डिफेन्डर वाई वाई औङले सावित्रलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । तर खिन मो वाईले १३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन । वाईले प्रहार गरेको कर्नर नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गर्दा सिधै गोलमा परिणत भएको थियो । अन्य समय र दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केहि अवसर बनाएपनि गोल गर्न सकेनन् । यस नतिजासँगै नेपाल अंक तालिकामा २ खेलमा २ अंक जोड्दै तेस्रो स्थानमा छ । भारत र म्यानमारको समान २ खेलमा ४-४ अंक छ भने अंकविहिन बंगलादेश पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर भारत र म्यानमारको खेल गोलरहित बराबरी भएमा नेपाल समूह विजेता हुनेछ । तर भारत र म्यानमारको खेलमा जित(हारको नतिजा आएर नेपालले बंगलादेशलाई हराएमा नेपाल समूहमा दोस्रो हुनेछ । दोस्रो भएको अवस्थामा छनोटका लागि भने नेपालले अन्य समुहको नतिजा पनि हेर्नुपर्नेछ ।

 


प्रकाशित : २०७५ कार्तिक २५, आईतवार २०:०६ गते

धेरै पढिएको

ताजा समाचार