‘हरिबहादुरको जुत्ता’ पछि हरिवंशको नयाँ फिल्म ‘श्रीनिवास’ घोषणा


काठमाडौँ । अघिल्लो फिल्म ‘हरिबहादुरको जुत्ता’ को व्यावसायिक सफलतापछि सोही टिमले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले दोस्रो सहकार्यका रूपमा यसको औपचारिक घोषणा गरेको हो ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्य र युवा अभिनेता अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन् । अभिषेकको डेब्यु फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

फिल्मलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् । यसअघि यो निर्देशक जोडीले फिल्म ‘बेहुली फ्रम मेघौली’ मार्फत चर्चा कमाएको थियो । सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेको यस फिल्मको कथा अभिमन्यु निरावीले लेखेका हुन् ।

निर्माण पक्षका अनुसार फिल्मका अन्य कलाकार र प्राविधिक पक्षबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ । यसअघि हरिवंश आचार्यको शीर्ष भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।


प्रकाशित : २०८२ माघ २३, बिहीबार ११:५० गते

धेरै पढिएको

ताजा समाचार