यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैन : मन्त्री गौतम


काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताउनुभएको छ ।

आज सम्बन्धित पक्षसँगकाे छलफलमा मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई सहज रूपमा अघि बढाउनका लागि आफूले सुधारका कार्यक्रम अघि सारेको तर त्यसमा सरोकारवाला मन्त्रालयहरूले साथ नदिएको गुनासो गर्नुभयो ।

सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको र स्वास्थ्य बीमा कार्यक्रमले त्यसमा पनि उल्झन गरेकाले आफूहरूले त्यसलाई हटाउने गरी कानूनी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गर्दा पनि सरोकारवाला मन्त्रालयहरूले सहयोग नगरेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयाे, ‘स्वास्थ्य बीमा कार्यक्रम यसरी चल्न सक्दैन । नेपालको संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने भनेर भनेको छ । र त्यो अनुरूप ९८ किसिमका औषधि निःशुल्क दिनुपर्छ । त्यसका लागि बीमा गराउनु हुँदैन, पाइँदैन ।’

मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने स्वास्थ्यसम्बन्धी बजेटसमेत अर्थ मन्त्रालयले नदिएको तथ्य पनि स्मरण गराउनुभयो ।


प्रकाशित : २०८२ माघ २३, बिहीबार ११:२२ गते

धेरै पढिएको

ताजा समाचार