काठमाडौं । पश्चिम नेपालको आतिथ्य क्षेत्रमा नयाँ युगको सुरुआत गर्दै बुटवलमा हायात प्लेसले औपचारिक रूपमा सेवा सुरु गरेको छ । बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेलका रूपमा सञ्चालनमा आएको होटेलले बुटवल क्षेत्रको बढ्दो आर्थिक, औद्योगिक र पर्यटकीय महत्त्वलाई थप मजबुत बनाएको छ ।
हायात प्लेस बुटवलको शुभारम्भसँगै विश्वस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड बुटवलमा प्रवेश गरेका होटेलको दाबी छ । तीव्र विकासको चरणमा रहेको बुटवललक्षित सञ्चालनमा ल्याइएको यो होटेललाई पश्चिम नेपालको आतिथ्य उद्योगका निम्ति रणनीतिक कोसेढुंगाका रूपमा हेरिएको छ ।
होटेलले हालै आयोजना गरेको भव्य उद्घाटन कार्यक्रममार्फत सहरको सामाजिक र जीवनशैली क्षेत्रमा समेत आफ्नो उपस्थिति मजबुत बनाएको छ । कार्यक्रममा उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।
हायात प्लेस बुटवलका महाप्रबन्धक तुषार नगरले बुटवलमा प्रिमियम आवास र जीवनशैली सेवाको माग तीव्र रूपमा बढ्दै गएको बताए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय आवागमन सहज भएको र औद्योगिक गतिविधि विस्तार हुँदै गएकाले अन्तर्राष्ट्रियस्तरको आवास आवश्यक भएको उनको भनाइ छ ।
होटेलले व्यापारिक यात्री, पर्यटक तथा यस क्षेत्रको बढ्दो व्यावसायिक गतिविधिलाई सेवा दिने लक्ष्य राखेको जनाइएको छ ।
महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको संगममा अवस्थित बुटवल पछिल्लो समय पारवहन सहरबाट व्यापारिक र औद्योगिक केन्द्रका रूपमा रूपान्तरण हुँदै गएको छ । अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक सडक सञ्जालका कारण बुटवल पश्चिम नेपालको प्रमुख आर्थिक केन्द्र बन्दै गएको छ ।
यस परिवेशमा हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, बैठक, सम्मेलन तथा व्यावसायिक भेटघाटका निम्ति अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध गराउँदै सहरको आतिथ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीनजिकै रहेको यो होटेलले धार्मिक तथा सांस्कृतिक पर्यटकका निम्ति समेत सहज र स्तरीय बसाइको विकल्प प्रदान गर्ने विश्वास गरिएको छ ।


