ललितपुर, काठमाडौँ, प्युठान र कैलाली गरी चार जिल्लामा ५० जनामा हैजा पुष्टि


काठमाडौँ, साउन २९ गते । साउन यता चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ललितपुर, काठमाडौँ, प्युठान र कैलाली गरी चार जिल्लामा ५० जनामा हैजा पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी ललितपुरमा छन् । ललितपुरमा ३८, काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिरामीमध्ये तीन जना अस्पतालमा उपचाररत छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली पहिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरुको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुमा लक्षणको निगरानी गर्ने गराउने कार्य भएको मन्त्रालयले जनाएको छ ।

प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वनमा काम भइरहेको, ललितपुरमा र काठमाडौँमा समुदायका सदस्यहरुलाई हातको सरसफाई र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान, केन्द्र, प्रदेश तथा स्थानीय तहका दु्रत प्रतिकार्य टोली परिचालन भएको, नियमित केस अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झाडापखाला तथा हैजाका बिरामीहरुको १४४ सरकारी तथा निजी अस्पतालहरुबाट नियमित रुपमा निगरानी भइ रहेको छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको ।

एउटै टोलबाट एक हप्ता भित्रमा पाँच जनाभन्दा बढि झाडापखालाका बिरामी देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्र्पक गरी जानकारी गराउने व्यवस्था भएको छ ।


प्रकाशित : २०८१ श्रावण २९, मंगलवार १३:४३ गते

धेरै पढिएको

ताजा समाचार