स्वरसम्राटको संस्मरण पुस्तकमा आउँदै


काठमाडौं । स्वरसम्राट नारायण गोपालका डायरी, संस्मरण र चिठीहरूको पुस्तक प्रकाशनमा आउने भएको छ । नारायण गोपालको निधन भएको ३४ वर्षपछि उनकै निवासमा प्राप्त ती सामग्रीलाई पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको हो ।

नारायण गोपाल संगीत कोषका कार्यकारी अध्यक्ष दीपक केसीले स्वरसम्राटबारे उत्खनन् गर्दा यी सामग्रीहरू भेटिएको बताए ।

कार्यकारी अध्यक्ष केसी र बुकहिलबीच भएको सम्झौतामा हस्ताक्षर गर्दै यस सम्बन्धी जानकारी दिइएको हो ।

“नारायण गोपाल मार्ग र चोकको नाम पनि मैले नै राख्ने सौभाग्य पाएँ । पछि सालिक पनि मेरै सक्रियमा स्थापना भयो । अहिले भवन पनि मेरै सक्रियतामा बन्दै छ । उहाँका संस्मरण र चिठीहरूको पुस्तक पनि मेरै खोज–अनुसन्धानमा प्रकाशन गर्न लेखेको रै’छ,” उनले भने ।

उनले भेटिएका सामग्री बुकहिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्कालाई हस्तान्तरण गरे ।

नारायण गोपालकी अर्धाङ्गिनी पेमला गुरुवाचार्यको निधन भएको करिब दुई दशकपछि भेटिएका ती डायरी र चिठीहरूले वि.सं. २०१५ देखि २०३५ सालसम्मको नारायण गोपालको व्यक्तिगत जीवनका साथै सांगीतिक जीवन र नेपालको सामाजिक–राजनीतिक अवस्थाबारे उनका अनुभवहरूलाई पाठकमाझ प्रस्तुत गर्नेछ ।


प्रकाशित : २०८१ श्रावण २४, बिहीबार ०८:१० गते

धेरै पढिएको

ताजा समाचार