भोटो देखाएर समापन गरियो भोटे जात्रा


काठमाडौं– वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।

आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्रनाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायतको पनि उपस्थिति रहेको थियो ।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ ।


प्रकाशित : २०८१ श्रावण २०, आईतवार १९:१५ गते

धेरै पढिएको

ताजा समाचार