च्याटजीपीले आफ्नै सर्च इञ्जिन ‘सर्चजीपीटी’ ल्याउने


च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले बिहीबार आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ ।

यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरु द्रुत गतिमा र तुरन्तै उपलब्ध गराउने समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ।

कम्पनीले हाल सानो समूहमा परीक्षणका क्रममा रहेको सर्चजीपीटी टूल पछि च्याटजीपीटी च्याटबटमा समावेश गरिने जनाएको छ।

यसबाट गुगल र यसको हालसम्म सबैभन्दा बढी प्रभावशाली सर्च इञ्जिनलाई मुख्य प्रभाव पार्ने देखिएको छ । सन् २०२२ मा पहिलोपटक च्याटजीपीटी सार्वजनिक हुँदा गुगलका लगानीकर्ताहरुमा मुख्य चिन्ता परेको थियो ।

त्यतिखेर गुगलका अधिकारीहरुको मुख्य चिन्ता उपभोक्ताहरुलाई जानकारी सर्च गर्ने नयाँ तरिका उपलब्ध गराएर बजार हिस्सा आफूबाट च्याटजीपीटीले खोस्ला भन्ने रहेको समाचारमा उल्लेख छ।

कम्पनीका अनुसार प्रोटोटाइपमार्फत् प्रयोगकर्ताहरुले प्राकृतिक र विवेकपूर्ण तरिकाले जानकारीहरु खोज्न तथा कुराकानी गरेकै जस्तो गरी प्रतिप्रश्न गर्न सक्ने सुविधा परीक्षण गरिरहेको छ ।

‘सर्चको कामलाई हाल उपलब्धभन्दा अझ उन्नत बनाउन सम्भव छ भन्ने हामीलाई लाग्छ,’ ओपनएआईका सीईओ साम अल्टम्यानले बिहीबार एक्समा एउटा पोस्टमार्फत भने ।

उता गत मे महिनामा गुगलका सीईओ सुन्दर पिचाईले एउटा एआई रुपरेखा सार्वजनिक गर्दै यो सर्चको क्षेत्रमा २५ वर्षयताकै सबैभन्दा ठूलो परिवर्तन भएको दावी गरेका थिए ।


प्रकाशित : २०८१ श्रावण १२, शनिबार २०:०८ गते

धेरै पढिएको

ताजा समाचार