
काठमाडौँ । काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान आजबाट सुरु भएको छ। सो अभियान मार्फत २ लाख ८० हजार बालबालिकालाई खोप लगाइने डा. गौतमले बताएका छन् । आजदेखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ । नेपालमा १३ वर्षपछि पोलियो रोग देखा परेको हो ।
मानिसमा नभएर वातावरणमा मात्रै देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रस्टाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौँको टुकुचा– बागमती सङ्गम नजिकको ढलबाट गत जेठ १३ गते नमुना सङ्कलन गरेको थियो । सो नमुना परीक्षण गर्दा ‘भ्याक्सि डेरिभ्ड पोलियो भाइरस–टाइप ३’ फेला परेको थियो ।
पोलियो रोग उन्मुलन गर्न करिब दश वर्षसम्ममा वातावरण र मानिसमा पोलियो भाइरस नदेखिएको हुनुपर्ने प्रवक्ता बुढाथोकीको भनाई छ । ‘हाम्रोमा पोलियो उन्मुलन हुनका लागि १० वर्ष मान्छे र वातावरणमा देखिनु हुन्न,’ उनले भने, ‘उन्मुलनको चरणमा थियो, बागमती–टुकुचाको ढलमा मिसिएको देखियो । वातावरणमा छ । तर मान्छेमा छैन ।’
- पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन पाँच वर्षा मुनिका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्ने मन्त्रालयले सुझाएको छ ।
- मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन– २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )
आजदेखि १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइने छ । पोलियोको खोप अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सहभागी गराउन मन्त्रालयको आग्रह छ ।


