ग्रीसको एउटा ग्यालरीबाट नौ वर्षअगाडि चोरिएको चर्चित चित्रकार पाब्लो पिकासोको एउटा कलाकृति फेला परेको छ।
सोमवार एन्थेन्स प्रहरीले पिकासोको वुमन्स हेड नामको कलाकृति र पिट मोन्ड्रियनको सन् १९०५ मा बनाइएको विन्डमिल नामक कलाकृति भेटिएको बताएको हो।
ती कलाकृतिहरू एन्थेन्स न्याश्नल ग्यालरीबाट सन् २०१२ मा अर्को एक कलाकृति सहित चोरिएको थियो।
केही मिनेट लागेको चोरीमा ती कलाकृतिहरू एकाबिहानै फ्रेमबाट झिकेर चोरिएको थियो।
‘कलाकार, पात्र र दर्शकका लागि कला एउटा औषधि हो’
भारतमा निर्मित कलात्मक कलमले कसरी पारखीहरूलाई मोहित पार्दैछ
रोयटर्स समाचार संस्थाले नाम उल्लेख नगरी एक प्रहरी अधिकृतलाई उद्धृत गर्दै बताए अनुसार ती कलाकृति सहर बाहिर लुकाएको अवस्थामा भेटिएको र एक जनालाई गिरफ्तार गरिएको छ।
केही महिनाअगाडि मात्रै ग्रीक प्रहरीले ती कलाकृति ग्रीसभित्रै रहेको विश्वास भएको बताएको थियो।
पिकासोको कलाकृति एउटा महिलाको पोट्रेट हो जुन उनको परिचित शैलीमा बनाइएको छ।
यो कलाकृति सन् १९४९ मा पिकासोले नै न्याश्नल ग्यालरीलाई उपहार दिएका थिए।
उनले त्यस बेला एक दशकअगाडि सिर्जना गरेको सो कलाकृति ग्रीसको नाजी जर्मनीविरुद्धको अडानको प्रशंसामा उपहार दिएको बताएका थिए।
चोरहरूले भाग्दा अर्को एउटा कलाकृति भने त्यही खसालेका थिए।