विक्रम संवत् २०७० जेठ ५ गतेदेखि शुरू भएको स्वयंसेवी वाग्मती सफाइ महाअभियान ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
विक्रम संवत् २०७० जेठ ५ गतेदेखि प्रत्येक शनिवार बिहान २ घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरू भएको हो ।
सफाइ महाअभियान स्वयंसेवी अभियान भए पनि यसले चन्दा, आर्थिक सहयोग संकलन नगरेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । महाअभियानका नाममा कुनै बैंक खातासमेत नखोलिएको उनले बताए ।
महाअभियानको कुनै समिति र कार्यालय समेत छैन । कुनै समिति र कार्यालय नभए पनि ८ वर्षदेखि निरन्तर सफाइ महाअभियान चलेको छ ।
विश्वमै लामो समय चलेको स्वयंसेवी अभियानका रूपमा वाग्मतीले पहिचान बनाएको छ । यसैकारण महाअभियानले अन्तर्राष्ट्रिय पुरस्कार समेत पाइसकेको छ ।
पुरस्कारको सम्मान ग्रहण गरे पनि पुरस्कारको नगद भने बैंक खाता नभएकैले लिइएको थिएन । महाअभियानले गत शनिवार ४१८ हप्ता पूरा गरेको छ ।
स्वाभिमान र राष्ट्रिय जागरणका लागि निरन्तर महाअभियान चलाइएको हो ।
महाअभियान नवौं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कोरोना प्रभावित मजदुर एवं विपन्न वर्गका लागि बुधवार विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पूरा गरी राहत वितरण गर्न लागिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।
कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण अस्पताल भर्ना हुने बिरामीका लागि रगतको अभाव हुन थालेकाले महाअभियानले बुधवार रक्तदान कार्यक्रमसमेत आयोजना गर्न लागेको जनाइएको छ ।
बुधवार साँझ कोरोनाबाट बच्न कस्तो आहारविहार एवं रहनसहन गर्ने भन्ने विषयमा जुम प्रविधिबाट अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ ।
विश्वकै लामो महाअभियान वाग्मती सफाइ महाअभियान नवौं वर्षमा प्रवेश
प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार ११:०० गते
© 2024: Shabda Nepal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Jhapa Technical Pvt.Ltd