कोभिड-१९ खोप उपलब्ध गराउन राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको अनुरोध


बैशाख २४,काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाइने कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे । ‘उपप्रधानमन्त्री पोखरेलले यसका साथै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपालले सहयोग चाहेको पनि जानकारी गराए ।’

जवाफमा संयोजक न्यान्तीले आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार मात्र मात्र प्राप्त गरेको छ ।


प्रकाशित : २०७८ बैशाख २५, शनिबार ०७:०९ गते

धेरै पढिएको

ताजा समाचार