कोरोना भाइरसले नेपाली अर्थतन्त्रका यी क्षेत्रमा पार्दैछ ठुलो असर


१)पर्यटन
पर्यटनले नेपालको आर्थिक क्षत्र कति योगदान गर्छ भन्नेमा स्पष्ट छैन। कम्तीमा तीनदेखि सात प्रतिशत योगदान गर्ने ठानिएको छ। एउटा कुरा भनिदै आएको छ कि एकजना विदेशी पर्यटक आउँदा नौ जनाको रोजगारी सिर्जना हुन्छ। कोरोनाभाइरस महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र हो।

एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर घुम्न निस्किन सक्नेको सङ्ख्या लामैसम्म कम रहने देखिन्छ । अर्कोतिर चाहना नै भएपनि ‘लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक नहुने देखिन्छ। अर्थविद् भन्छन्, “जो पर्यटक भएर यहाँ आउँथे ती मानिस नै बेरोजगार हुने अवस्था छ। यो क्षेत्रमा ठूलै खति हुने देखिन्छ।” यसले हवाई, होटल तथा रेस्टुराँ,उड्डयन, यातायात, कृषि तथा अन्य व्यवसायी, ब्याङ्क तथा वित्तीय संस्था सबैको आयमा असर पर्नेछ।

२) विप्रेषण आय र वैदेशिक रोजगारी
अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी आठ खर्ब ७९ अर्ब रुपैयाँ थियो। त्यो देशको कुल उत्पादनको १/४ हो। ठूलो योगदान गर्ने विप्रेषण क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर अवस्थामा परेको छ। यसले आगामी दिनमा पार्ने असर व्यापक देखिन्छ।

एकातिर त्यहाँ रहेका कामदारहरूको तलब ज्याला घट्न सक्ने सम्भावना छ भने अर्कोतिर ती देशमै आर्थिक मन्दी भए रोजगारी नै धरापमा पर्ने अवस्था आउन सक्छ । खाडी देशहरू पेट्रोलियम पदार्थको माग र मूल्यमा आएको भारी गिरावटसँगै आर्थिक मन्दीमा पर्ने खतरा छ।

३) साना तथा मझौला उद्योगी व्यवसायी
कुनैपनि देशको अर्थतन्त्रको निम्ति एसएमई भनिने साना तथा मझौला व्यवसायी मेरुदण्ड नै हुने गर्छन्।
ससाना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि म म पसलेदेखि लिएर किराना व्यापारी सबै यसैमा पर्छन्। साना / मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका छन्।तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आइपर्छ । खानेकुरा र औषधिबाहेक सबै पसल बन्द छन्। यिनमै पनि बजारमा मासुको माग छ तर आपूर्ति गर्न सकिएको छैन। एकातिर अण्डा र चल्ला नष्ट हुँदैछ अर्कोतिर बजारमा पाइएको छैन। अहिलेको समयमा कोही पनि लुगा वा नयाँ गाडी वा टेलिभिजन किन्ने मनस्थितिमा हुन्नन्। यसले कति असर पारिरहेको छ भनेर हिसाबकिताबै भएको छैन। खासगरी यी अनि निर्माणका क्षेत्रमा निर्भर दशौँ हजार दैनिक ज्यालादारी गर्ने मजदुर तत्कालको निम्ति अत्यधिक जोखिममा परिसकेका छन्।

४) व्यापार तथा वित्तीय क्षेत्र
अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्। देशको कुल गार्हस्थ्य उत्पादनमा निर्यातको अंश २।८ प्रतिशत अनि आयातको अंश ४० प्रतिशत छ। एकातिर यो अवस्थामा माग नै हुने देखिँदैन भने अर्कोतिर माग भएपनि त्यसको आपूर्ति गर्न सहज नहुने देखिन्छ । अत्यावश्यक भनिएका सामग्रीको आयात तथा ढुवानीमा पनि समस्या देखिएको छ।

सहज आर्थिक गतिविधि ठप्प भएकाले कारोबारमा असर त छँदैछ अन्य क्षेत्रमा परेका सबै किसिमका नकारात्मक असरले ब्याङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा जोखिममा पर्न सक्छन्। पर्यटनमा मात्रै ब्याङ्क र वित्तीय संस्थाका अर्बौँ लगानी छ। त्यसको अब रिकभरी वा सुधार हुन समय लाग्छ। त्यसैकारण ब्याङ्कका सम्पति जोखिममा पर्छन् जसको चौतर्फी असर पर्ने अवस्था आउन सक्छ ।


प्रकाशित : २०७७ बैशाख १३, शनिबार २०:२६ गते

धेरै पढिएको

ताजा समाचार