काठमाडौँ — मलेसियामा कार्यरत नेपालीसहित विदेशी कामदारले जनवरीदेखि न्यूनतम १२ सय रिंगेट (झन्डै नेपाली ३३ हजार रुपैयाँ ) पाउने भएका छन् । मलेसिया सरकारले जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेको थियो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियाले विदेशी र स्वदेशी नागरीकबीच विभेद गरिएको छैन। ‘मलेसियाले न्यूनतम तलबमा एक सय ५० बढाएर १२ सय रिंगेट पुर्याएको छ’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, ‘यसले नेपालीलाई ठूलो आर्थिक फाइदा पुगेको छ।’
मलेसियामा हाल झन्डै चार लाख नेपाली कार्यरत छन्। पाण्डेका अनुसार बढाइएको तलब पुराना कामदारको हकमा समेत लागु हुनेछ। ‘हामीले जनवरी २ देखि नै करारपत्रमा १२ सय रिंगेट उल्लेख भएमा मात्रै मागपत्र प्रमाणीकरण गर्नेछौं’, उनले भने,‘नयाँ र पुराना दुवै कामदारले नयाँ तलबमान पाउने हो।’
कम्पनीले नयाँ तलबमान नदिएमा जानकारी दिन पनि दूतावासले अनुरोध गरेको छ। राजदूत पाण्डेले नेपाली सुरक्षा गार्डले कम्तीमा २१ सय रिंगेट पाउने बताए। ‘अहिले सामान्य कामदार र सुरक्षा गार्डको तलबमान समान तोकिएको छ। तर, सुरक्षागार्डले हरेक दिन दैनिक चार घण्टा ओभरटाइम गर्ने हुदाँ मासिक रुपमा ओभरटाइमबापत ९ सय रिंगेट छुट्टै पाइन्छ’, उनले भने।


