
विकास रोकामगर
असोज १२ गते पिता वीरबहादुर रोका र माता दलसरी रोकाको सुपुत्रको रुपमा जेल्बाङ, रोल्पामा जन्मनुभएका विकास रोकामगर हाल अध्ययनको सिलसिलामा पोखरा, कास्कीमा बसोबास गर्दै आइरहेका छन् । विद्रोही स्वभावका विकाससँग नेपालि साहित्यको वरिपरी रहेर केहि कुरा गरेका थियौं । प्रस्तुत: छ उहाँसंग गरिएको कुराकानीको संक्षिप्त अंश:-
सबैभन्दा ठग कवि नै हुन्छ । दुख बिर्सेर सुख लेख्छ ।
सीमान्तकृतलाई समेट्न सकेन, इतिहास निष्ठुर छ’, भन्ने गरिन्छ । तपाईं निरन्तर कविता साधानामा लागिरहनु भएको छ । दिग्गज, अग्रजदेखि समकालीन कविहरुसम्म आइपुग्दा नेपाली साहित्यचाहिँ कत्तिको इमानदार देख्नुहुन्छ ? नेपाली साहित्य पनि नेपाली समाजप्रति निष्ठुर छ र ?
– सत्य स्वीकार्दा कविताजस्तो केही लेखिरहेको मान्छे हुँ । तर साधाना गरिरहेको छैन, यो समकालीन सबै कविहरुको समस्या हो । कवि विप्लव प्रतीकको कुरा मन परेको हो – ‘समकालीन कविमा सिरियसनेस भन्ने पट्टक्कै छैन ।’ सत्य यही हो नै त हो ।
टुप्पो पहिले राणाकालमा लेखिन्थ्यो होला तर अहिले पैतलाबाट पनि लेखिन थालेका छन् । त्यसै आधारमा साहित्यिक आन्दोलन पनि भइरहेका छन् । पहिचानवाद, रंगवाद, स्वतन्त्रवाद त्यसै नेपालमा भित्रिएको होइन ।
इतिहास त निष्ठुर थियो नै भोलिका हाम्रा दरसन्तानले पनि हाम्रो समयलाई निष्ठुर भन्ने नै छन् । यो त चलिरहने प्रक्रिया हो ।
जहाँसम्मको यो दिग्गज, अग्रज र समकालीन छ, यो के को आधारमा मान्ने हो र ? वर्तमान नेपाली कविलाई भूपी र रिमालको पुच्छर छोड्न नसकेकाहरु भन्ने आरोप लाग्दै आएको छ । यो सबैको समस्या भनेको कथित् अग्रज भनिने कविहरुले नयाँ पुस्तालाई ‘बाल’ नदिएकै कारण हो । उनीहरु नयाँ पुस्ताको अध्ययन र शैलीसँग डराउँछन् र विरोध गर्छन् ।
नयाँ पुस्ता जो छ बुढा पुस्तालाई पनि कवि मान्दैनन् । उनीहरुलाई के भ्रम छ भने मैले लेखेको नै शताब्दीकै उत्कृष्ट हो । बिर्सन्छौं कि कुनै दिन हामी पनि पार लाग्छौं । हाम्रा पछि अर्को पुस्ता आउन तयार छ । इमान्दार त कोही छैन । सबै त शब्द थुपार्ने हो ।
तपाईंको प्रश्नमा कविता समाजप्रति निष्ठुर छ भन्ने पक्षमा छैन । साहित्य भनेकै समाज टेकेर लेखिने हो । कवि विप्लव ढकालको भनाइ याद आउँछ – ‘अहिलेका कवि सीमान्तकृत मान्छे र समाजाको कथा उनीहरुकै भाषामा लेख्न थालेका छन् ।’ समकालीन साहित्य समाजसँग होइन सत्तासँगचाहिँ पक्का निष्ठुर बनिरहेको छ पछिल्लो समय । यो ठीक कुरा हो ।
तपाईंको कविताको केन्द्र के हो ? परिवर्तित देश ? विकृत राजनीति ? आन्दोलित नेपाली मन ? या नैतिक मुल्यको स्खलन ? तपाईं वर्तमान नेपाली समाज लेखिरहनु भएको छ । कत्तिको चुनौतीपूर्ण लाग्छ ? सहज पनि छ र ?
मेरो कविताको केन्द्र मेरो व्यवहार हो । म विद्रोही स्वभावको छु । प्रेममा होस्, समाजमा होस्, शासक र सत्ता होस् सबै कुरामा नराम्रो देखियो भने विद्रोह गर्छु । मैले वर्तमान समाज लेखिरहेको छैन । शासकको इच्छा बमोजिम परिवर्तित भएको देश र तिनै शासकले गर्ने राजनीति नै मेरो कविताको निशानमा पर्छन् । उसो त कविता जे कुराले छुन्छ त्यही कुरा लेख्ने हो । मलाई यो देशका शासकको रजगज मन पर्दैन ।
एक पक्ष भन्छन– ‘सामाजिक जीवनको एउटा कमजोर र अव्यवहारिक मान्छे कवि हो ।’ अर्को पक्ष पनि छन्, जो भन्छन् कि – ‘कवि एक अहमवादी मान्छे हो ।’ साँच्चै कवि को हो ? तपाईं लामो समयदेखि कविता लेखिरहनु भएको छ, कविको बारे तपाईंको आफ्नो कथन के छ ?
– जसले जे भनेछ सही भनेछ । अहमलै नै कमजोर र अव्यवहारिक बनाउने हो । कवि अहमवादी मात्रै होइन । कुण्ठित र घमण्डी सबै हुन्छ । कलाको आआफ्नै परिभाषा हुन्छ । ऊ के सोच्छ भने कविता मात्रै कला हो । सुन्दर चित्र देख्यो भने भन्छ – ‘वाह क्या कविता जस्तो चित्र ।’ सुन्दर गीत सुन्यो भने भन्छ – ‘वाह क्या कविताजस्तो गीत ।’
मलाई अचम्म यही लाग्छ गीतलाई गीतकै रुपमा र चित्रलाई चित्रकै रुपमा किन छोड्न मान्दैन एउटा कवि ? तर यो पनि भन्छु – सबैभन्दा ठग कवि नै हुन्छ । दुख बिर्सेर सुख लेख्छ कवि।
प्रस्तुत छ उहाँको तीन कविता:-
जहाँसम्मको यो दिग्गज, अग्रज र समकालीन छ, यो के को आधारमा मान्ने हो र ? वर्तमान नेपाली कविलाई भूपी र रिमालको पुच्छर छोड्न नसकेकाहरु भन्ने आरोप लाग्दै आएको छ ।
यो सबैको समस्या भनेको कथित् अग्रज भनिने कविहरुले नयाँ पुस्तालाई ‘बाल’ नदिएकै कारण हो । उनीहरु नयाँ पुस्ताको अध्ययन र शैलीसँग डराउँछन् र विरोध गर्छन्
विद्रोह – विकास रोकामगर
यो माटोको मालिक थियौं हामी,
माटोले हाम्रो आदिवासी लबज बुझ्थ्यो ।
हाम्रोमाथि नयाँ शासक आएपछि
यो माटो उसैको नाममा छ ।
खोसियो हाम्रो भूगोल ।
हाम्रो भाषा खोसियो,
लवज खोसियो,
पहिचान खोसियो,
मौलिकता खोसियो ।
कसको छ हँ दोष ?
माटोले भन्न सकेन – ‘म तिम्रो हुँ ।’
हामीले भन्न सकेनौं – ‘यो माटो हाम्रो हो ।’
पक्का अब यहाँ अब क्रान्ति हुन्छ ।
गाडेर हाम्रो प्रिय भूमीमा – अजंग पिल्लर
खडा गरेकै हो तिमीले आफ्नो सम्राज्य ।
र घोकाएकै हो –
हाम्रा संस्कृतिमाथि तिम्रा डरलाग्दो भक्ति श्लोक ।
क्रान्ति – विकास रोकामगर
थाहा छैन
अब यसरी बगेको रगतले
कसको लेखिएला स्वर्ण इतिहास ?
हाम्रै पुर्खाको ईतिहासमा ताकिएथ्यो तरबार
तेर्साइएथ्यो भाला – हाम्रै भाषाको गर्धनमा
र हाम्रै पितृ पूजेको त्यस पूज्य स्थानमा
राखिएको थियो –
रगतले लत्पतिएको महाराजको श्रीपेज ।
बाँधेर हाम्रो लिपीको आँखा
हिडाइएथ्यो – फरक भाषाको भिरालो बाटोमा ।
लर्खराउदै पनि हिडेकै हो हामी – हिडेकै जो छौं ।
गाडेर हाम्रो प्रिय भूमीमा – अजंग पिल्लर
खडा गरेकै हो तिमीले आफ्नो सम्राज्य ।
र घोकाएकै हो –
हाम्रा संस्कृतिमाथि तिम्रा डरलाग्दो भक्ति श्लोक ।
एक युगको अन्त्य पछि
फेरी जब उदाउँदैछ – सभ्यताको नयाँ सूर्य – यो आकाशमा ।
त्यो पनि भन्दैछौ कि –
प्रथम पटक उदाउनु पर्छ मेरै घरमाथि ।
मेरै निधारको टिकाजस्तो हुनुपर्छ – आकार ।
‘अहिलेका कवि सीमान्तकृत मान्छे र समाजाको कथा उनीहरुकै भाषामा लेख्न थालेका छन् ।’ समकालीन साहित्य समाजसँग होइन सत्तासँगचाहिँ पक्का निष्ठुर बनिरहेको छ पछिल्लो समय ।
यद्यपि
अब चुपचाप हेरि बस्ने छैन – हाम्रो चिम्सो आँखा
नबोल्ने छैन – हाम्रो जिब्रो ।
नउठ्ने छैन – विचार क्रान्तिको धारिलो तरबार ।
र नबग्ने छैन फेरी – विद्रोहको नयाँ आलो रगत यहाँ ।
सत्य थाहा छैन
अब यसरी बगेको रगतले
कसको लेखिएला स्वर्ण इतिहास ?
सलाईसँग चकचक गर्दै
तिमो छानो ताक्न सक्छु
बिजुलीसँग चकचक गर्दै
तिम्रा घरका नांगातारमा खेल्न सक्छु ।
मौनतामा चकचक – विकास रोकामगर
बेलाबेला
यसै चकचक गरिरहन मन लाग्छ मलाई ।
तिमी जान्दैनौ की
म कति चकचके छु
यसबारे जति मेरा दुस्मन जान्दछन् ।
तिमीसँग त भ्रममै पनि मित्रता जोडेको थिएँ ।
यसअर्थमा
तिमी जान्दिनौं मेरो चकचकको अन्तिम नतिजा ।
र तिमीलाई थाहै छ –
मूर्खमान्छेको चकचक कति खतरनाक हुन्छ ?
म रिसाएको नाटक गर्दै
तिमीलाई हिर्काउन सक्छु ।
खुकुरीसँग चकचक गर्दै
तेस्र्याउन सक्छु – तिम्रो कमजोर गलामा
जसले भर्खर मलाई हालेको थियो – झूठो अंगालो ।
तिम्रो घरअघि उभिएर
थुकिदिनसक्छु – मुतिदिन सक्छु ।
यी सबैलाई चकचकको नाम भनिदिन सक्छु ।
र तिमीलाई थाहै छ –
मूर्खमान्छेको चकचक कति खतरनाक हुन्छ ?
सलाईसँग चकचक गर्दै
तिमो छानो ताक्न सक्छु
बिजुलीसँग चकचक गर्दै
तिम्रा घरका नांगातारमा खेल्न सक्छु ।
बेलाबेला यसै चकचक गरिरहन मन लाग्छ
जतिबेला तिमी मेरो मौनताको खिल्ली उडाउँछौं ।
…
ओ ! शासक
यतिबेला बिल्कुल मौन बसेको छु म ।
र तिमीलाई थाहै छ
मुर्ख मान्छेको मौनता कति खतरनाक हुन्छ ?


