आमा लक्ष्मी आचार्य र बुवा ठाकुर प्र. आचार्यको कान्छो छोराको रुपमा रुपन्देहीमा जन्मिनु भएको हो देशबन्धु आचार्य । २०६४ सालमा एस्.एल .सी गर्नु भएका उहाँ हाल पोखरा ,पि एन क्याम्पसबाट स्नातकोत्तर भौतिकशास्त्रमा गर्दै हुनुहुन्छ ।
स्वतन्त्र रुपमा साहित्यमा कलम चलाउने उहाँसंग हामीले समकालीन नेपाली साहित्यको वरिपरी रहेर केहि कुरा गरेका छौँ ! प्रस्तुत: छ उहाँसँग गरिएको संक्षिप्त कुराकानी :-
ब्याख्या मात्र गरेर कविता हुने भए दस कक्षा सम्म खुप सप्रसंग व्याख्या गरियो तिनलाई कविता भन्न मिल्ला ?
१ कविता सुत्र हो कि व्याख्या ? कविता मा बिम्बात्मक संयोजन र अभिव्यञ्जनामूलक कथ्य कत्तिको आवश्यक हुन्छ ? समकालीन कविहरु कपोकल्पित संसार, इन्द्रेणी, क्षितिज जस्ता कुराहरुमा घुंडा धसेर लागिपरेका देख्छौ ? यो कत्तिको निको लाग्छ ?
– प्रथमत: धन्यवाद, शब्द नेपाल।
कविता आफैमा सुन्दर चिज हो र सुन्दरताको कुनै सुत्र हुँदैन । कविताले बटुल्ने भावमा कुनै सुत्र हुँदैन ।लय लाई सुत्र मान्नु अलग कुरा हो । अनि कवितालाई ब्याख्या मात्र पनि कसरी मान्नु ? ब्याख्या मात्र गरेर कविता हुने भए दस कक्षा सम्म खुप सप्रसंग व्याख्या गरियो तिनी लाई कविता भन्न मिल्ला र? हो बरु थोरै कलात्मक कुराले धेरै ब्याखा गर्न सक्नु नै कविता हो जस्तो लाग्छ ।
कवितामा बिम्बात्मक संयोजनहरु आवश्यक पर्छ कि पर्दैन कवितामा नै भर पर्छ, कहिलेकाही सादा तरकारी पनि पकाउन जान्ने भने मिठो बन्छ , मसला हालेको झन नमिठो हुने कुरै भएन !
आजभोलि बिम्बको रुपमा इन्द्रेणी ,आकाश आदि बहुत प्रयोग भएको देख्छु, अलि फरालिलो भएर नयाँ नयाँ बिम्ब हालेर नयाँपन दिन सक्नुपर्छ झैं लाग्छ ।
२ जिवन संघर्षको अर्को पर्यावाची शब्द कविता हो भन्ने गर्दछन् कविहरु ! तपाईं के भन्नू हुन्छ ? तपाईंको लागि कविता के हो ? कवितालाई कसरी अर्थाउनु हुन्छ ?
– प्राय कविहरुको कवितामा जीवन संघर्षका अनुभव मिसिएको हुन्छ ।तर सबैले संघर्षका कविता लेख्छ्न् भन्ने नि छैन । कोहि प्रेमिल कविता लेख्छ्न ,कोहि श्रृङ्गारिक कविता लेख्छ्न ! उनीहरुको हकमा नसुहाउला!
म संग कविता यहि नै भन्ने क्षमता त छैन तर केही बोल्नु नै पर्दा कविता जीवन को तरंग हो जसले जीवन बोकेको हुन्छ!
जसरी एफ एम रेडियो हरुका तरंगले भ्वाइस सिग्नल बोकेर हिड्छ्न।
३ एक पक्ष भन्छन, “सामाजिक जिवनको एउटा कमजोर र अव्यावहारिक मान्छे कवि हो !” अर्को पक्ष पनि छन, कवि एक अहमवादी मान्छे हो !” साच्चै कवि को हो ? तपाईं लामो समय देखि कविता लेखिरहनु भएको छ, कविको बारे तपाईंको आफ्नो कथन के छ ?
– भन्न त भन्छ्न्- “कविहरु बात मात्र गर्छन् , बातले पेट भरिन्न,” यो अर्थमा अव्यावहारिक भनेका होलान ।
हुन त लडाइँको लागि हरेक संग एक न एक हतियार हुन्छ। जस्तो कि सैनिक संग बन्दुक हुन्छ,बाघ संग नंग्रा र दाह्रा ,चराहरुको ठोड हुन्छ , …….त्यस्तै कविहरु संग हतियार भनेकै शब्द नै हो।
शब्दलाई कमजोर ठान्नेहरु विभिन्न आरोप लगाउँछ्न!अहमताको सन्दर्भमा मानव जगत नै अहमबादी हुन ,कवि मात्र होइन, खोतल्दै जाने हो भने यहाँ हरेकको झोलामा अहम भेटिन्छ ।
उसो त म अझै काँचै छु !तथापी मेरो बिचारमा चाहिँ कवि माली हो ।
बगैंचाका फू लाई मिलाएर टुप्पो काट्यो भने बगैंचा सुन्दर देखिन्छ! जरै बाट काट्यो भने मर्दछ ! शब्दहरु लाई बचाउने जिम्मा लेखकहरुको हो जस्तो लाग्छ।
धन्यबाद
हुन त लडाइँको लागि हरेक संग एक न एक हतियार हुन्छ। जस्तो कि सैनिक संग बन्दुक हुन्छ,बाघ संग नंग्रा र दाह्रा ,चराहरुको ठोड हुन्छ , …….त्यस्तै कविहरु संग हतियार भनेकै शब्द नै हो।
प्रस्तुत: छ उहाँको तीन कविता:
पश्चताप बन्धु
तिमी स्थिर थियौ
पोखरिको पानी झैं
म फुल्न खोजें काखमा कमल बनेर ,
त्यसपछि
तिमी चन्चल भयौ
धाराको पानी झैं !
गल्ती मेरै हो
मैले मात्र अन्जुली मा आड्याउन खोजें!
जानेहरु त पिएर जाँदा रहेछन् ।
छाता बन्धु
झमझम पानी पर्दा किनेका हुन्
यि मान्छेहरुले ओढ्नको लागि ,
र ओढिसकेपछि थन्काएछ्न् एउटा कुनामा
र बिर्सिगएछ्न् ,
आज फेरि चर्को घाम लाग्दा
तिनै मान्छेहरू खोज्दै छन् रे
उही कुनामा थन्किएको पुरानै छाता!
आखिर म पनि छाता न हुँ ।
चाहिँदा सम्झिन्छ्न नत्र बिर्सन्छ्न
मान्छेहरू ।
मपाई बन्धु
छाहारी बस्छ्न बटुवाहरु
पिचित्त थुक्छ्न जरामा – सहन्छ्न
तर राख्दैनन कहिल्यै रुखले हागा खसाली हिर्काउने सोच,
अक्करे भिरहरुमा बसेर पनि मुस्कुराइदिन्छ्न – गुँरासहरु
नधमिल्याइ पिउँछ पोखरीको पानी र
निष्फिक्री नाचिदिन्छ -मृग
सकेसम्म डस्दैनन आफ्नै सत्रुलाई पनि – सर्पहरु
पहिला मुसार्छ्न सुस्तरी र घाँटी निमोठेर लैजान्छ्न
तर कहिल्यै सराप्दैनन धारे हात लगाएर फूलहरुले
गुलेलिको बदलमा
कहिल्यै खसाएनन गोला जमिनमा
र बनाएनन टुहुरा कसैलाई पनि
– जोडि चखेवाले
गरेनन कहिल्यै कुर्सिको लोभ
बोकेर दुखको भारी हिडिरहे निरन्तर
भिरैभिरको बाटो – खच्चडहरु
अक्करे भिरहरुमा बसेर पनि मुस्कुराइदिन्छ्न – गुँरासहरु
नधमिल्याइ पिउँछ पोखरीको पानी र
निष्फिक्री नाचिदिन्छ -मृग
सकेसम्म डस्दैनन आफ्नै सत्रुलाई पनि – सर्पहरु।
गरेनन् कहिल्यै धर्महरुको युद्ध
तुलसी र क्रिश्चमसका बोटले
पखेटामा इन्द्रेणी टटल्काउँदै उड्ने पुतलिहरु
गर्दैनन् जातीय युद्ध कुरुप भवँरा संग !
धाएनन् कहिल्यै पाठशाला ,
पढेनन् पास्कलका नियम
गरेनन् कुनै आविष्कार र पठाएनन् रकेट कतै
तर कुरुप नबनाइ प्रकृति फाद हाली रहन्छ्न् वल्लो पल्लो हाँगा – बन्दरहरु।
कसैलाइ ठेस नपुर्याइ
अरुको घर नजलाइ, कसैलाई कैद नगराई
प्रकृति लाई नबिगारी
यहाँ अरु सबै प्राणीहरु
स्वतन्त्र बाँचिरहेका छन् चुपचाप
सिवाय हामी
जो ठिक बिपरित छौं ।
तैपनि ! हामीलाई नै “सर्वश्रेष्ठ प्राणी ”
कसले बनायो होला?


