निरज दाहालको तीन कविता !!


निरज दाहाल

झापा घर भएका निरज दाहाल अध्ययनको सिलसिलामा अस्थायी रुपमा काठमाडौंमा बसोबास गर्दछन ! एभिएसन टेक्नोलोजी र अङ्ग्रेजी साहित्य अध्ययनरत निरज नेपालि समकालीन कविता लेखन क्षेत्रको परिचित नाउँ हो !

हामीले उहाँसँग समकालीन कविताको सेरोफेरोमा रहेर केहि कुरा गरेका छौं ! प्रस्तुत छ उक्त कुराकानीको संक्षिप्त अंश:-

मेरो हकमा कविता भनेको एक शैली हो । भन्नुपर्ने धेरै कुराको छोटो रुप कविता हो र कविता आत्मसन्तुष्टी पनि हो ।”

 

 

 

नेपाली साहित्य जगतमा बनेका, उठेका घरहरु(कथाहरु) उत्ति भेटिंदैनन् । बिग्रेका, भत्केका घरहरु मात्रै भेटिन्छ ।काव्यको मुहान दु:ख नै हो ? कि दु:ख  मात्रै हो र? नेपाली काव्य विश्व स्तरमा नपुग्नुको कारण तपाईं के देख्नुहुन्छ ?

सर्वप्रथम त प्रश्नहरूको लागि आभार व्यक्त गर्दछु । म अरू कुनै कुराको भूमिकामा नअल्झिकन सोझै उत्तरहरूमा प्रवेश गर्दछु ।

काव्यको मुहान नै दुःख भने होइन । केही हदसम्म दुःख धेरै लेखिए होलान् । त्यो अपवादको रूपमा लिन सकिन्छ । तर मुहान नै दुःख हो भन्न चाहिँ मिल्दैन । सुखका काव्यलाई हेर्ने हो भने पनि पूर्वीय काव्यमा सुख पनि दुःखका मात्रामा नै लेखिएको छ जस्तो लाग्छ मलाई । प्रश्नकर्ताले काव्यको मुहान नै दुःख हो ? भन्नुभएको छ । वहाँले कसरी बुझ्नुभएको छ । तर हाम्रो पूर्वीय पहिलो काव्य “रामायाण” मा पहिलो श्लोक चाहिँ दुःखको छ । यो सत्य हो । वाल्मिकीले ती दुई चरालाई हेर्दै गर्दा एक शिकारीले एक चराको हत्या गरेपछि अर्को चराको पीडा देखेर लेखिएको त्यो श्लोकमा दुःख लेखिएको छ । भन्नुको तात्पर्य यो भने होइन कि हाम्रो सुरुवाती काव्य नै दुःख छ र दुःख नै लेख्नुपर्छ । तर यो कुरा भने सत्य हो, हाम्रो पूर्वीय वाङ्मयमा पहिलो पटक लेखिएको श्लोक भने दुःखको नै छ ।

नेपाली काव्य विश्व स्तरमा नपुग्नुको केही कारणहरू छन । पहिलो कारण चाहि हाम्रो नेपाली काव्य अरूहरूका काव्यभन्दा कान्छो छ । नेपाली महाकाव्यको इतिहास नै पचास वर्षभन्दा पुरानो छैन । र , त्यस्तै हाम्रो काव्यको उच्चस्तरिय अनुवाद भएको छैन । केही हदमा अनुवाद भए जो नेपालमै छापिए र नेपालमै बिलाए । कुनै विदेशी प्रकाशकसम्म केहीलाई छाडेर हाम्रा काव्यहरु पुगेका छैनन् । तर, पुग्नु जरुरी छ । हामीसँग केही त्यस्ता केही काव्य छन् जो अनुवाद गर्नुभए नेपाली साहित्यलाई विश्वमा चिनाउन कत्ति पनि समय लाग्दैन ।

कविता लेख्नु गम्भीर काम हो भनिन्छ । फेरि अर्कातिर कविता लेख्नेहरुको बाक्लो उपस्थिति पनि भेटिन्छ । तपाईं  कविता लेखनमा साधनारत हुनुहुन्छ । समकालीन नेपाली कविताको माहोल कत्तिको कोलाहलमय देख्नुहुन्छ ? शान्तिप्रिय पनि देख्नुहुन्छ र?

पहिलो कुरा त यो प्रश्न जरुरी थिएन किनकी आफू बाँचेको समयमा कविता जहिले पनि कोलाहलमय नै हुन्छ । मेरो विचारमा नेपाली कविताको हकमा चाहिँ अधिकार खोज्ने ग्रुपहरू, समावेशीकरणको सिद्दान्त र राजनितीको लागि लेखिरहेका छन् । पछिल्लो समयको नेपाली कविताको भंगालो चाहिं प्रोटेस्ट पोयट्री हो । मेन स्ट्रीमहरूको विरुद्द अथवा शासकहरूको विरूद्द, आफ्नो अधिकारको पक्षमा नाराबाजी गर्ने, हल्ला गर्ने र अधिकार माग्ने भएकाले पहिल्लो समयमा नेपाली कवितामा कोलाहाल चाहिँ देखिन्छ । यो कोलाहल यो समयको वा यो समयमा मात्र देखिएको भने होइन । जुनै पनि समयको पछिल्लोतम भंगालो चाहिँ कोलाहलमय देखिन्छ नै । र , अहिलेको गणतन्त्र पछिको कोलाहल चाहिँ अलि ज्यादा नै हो । यो भने यो सत्य हो ।

कविता के हो ? तपाइँ कवितालाई कसरि अर्थाउनुहुन्छ र ? कविता अरु साहित्यिक विधा गजल, कथा या उपन्यास भन्दा कसरि भिन्न छ ?

तपाईँको यो संरचनात्मक प्रश्नमा मेरो भन्नु के छ भने, “मेरो हकमा कविता भनेको एक शैली हो । भन्नुपर्ने धेरै कुराको छोटो रुप कविता हो र कविता आत्मसन्तुष्टी पनि हो ।”
कविता चाहिँ अरु विधाभन्दा फरक छ । यो सत्य हो । कविताको इतिहास चाहिँ आदिम छ । कविता धेरै नै पुरानो हो । गजल, कथा र उपन्यास चाहिँ पछिल्लो समयमा मौलाएका हुन । कविता मूलधारको काव्य हो । कवितामा विषयवस्तुको कुनै सीमा छैन जुन अरूमा छ ।

धन्यवाद !

आफू बाँचेको समयमा कविता जहिले पनि कोलाहलमय नै हुन्छ । मेरो विचारमा नेपाली कविताको हकमा चाहिँ अधिकार खोज्ने ग्रुपहरू, समावेशीकरणको सिद्दान्त र राजनितीको लागि लेखिरहेका छन् ।

प्रस्तुत छ उहाँको तीन कविता:-


 

अन्धविश्वास निरज दाहाल 

 

छोरो पाउने आशमा

डाक्टर

लगातार तीन छोरीको बाउ भएको छ

अब कसरी पत्याउ

यो समाज शिक्षित छ भनेर ।

 

दिनभर

मानवता र नैतिकता

पढाएर घर फर्किदै गरेको शिक्षक

गाउलेले

बाटोमा एक बृद्धलाई

लछार पछार पार्दै गर्दा

मलमुत्र खुवाउन अघि सर्छ भने

के यो समाज  शिक्षित छ ?

सय जनाको लास छोए

स्वर्ग पुगिन्छ रे

तर

आज सम्ममा

आर्यघाटमा लास पोल्नेले

कतिवटा लास छोइसक्यो होला ?

 

कार्यलयको

हाकिम र पियन

सगै कार्यलय जादैछन

अचानक ! बिरालोले बाटो काट्छ

पियन वास्तै नगरी अघि बड्छ

तर

हाकिम एकछिन रोकिएर थु गर्दै हिड्छ भने

अब कसरी पत्याउने

देशले विकासको गति लिदैछ भनेर ?

 

सय जनाको लास छोए

स्वर्ग पुगिन्छ रे

तर

आज सम्ममा

आर्यघाटमा लास पोल्नेले

कतिवटा लास छोइसक्यो होला ?

 

मलाई एकचोटि

न्यायाधीशलाई सोध्न मन छ

अदालतको कडघरामा उभिएकी

महिनावारी भएकी महिलालाई

वकिलले

गिता छुन दिन्छ कि दिदैन ?

 


 

तमसुक निरज दाहाल 

 

घर छाड्ने बेलामा

घरको भित्ताभरि कुँदेँ

फर्किएपछि बनाउँने अर्को घरको नक्सा

 

झोलाभरि आमाको आशीर्वाद

गोजीभरि बाले कोट टक्टक्याएर दिनुभएको

सुर्तीको गन्ध आउने नोटहरू

बोकेर हिँडेँ हृदयभरि तमसुकका अक्षरहरू

हाम्रो पूर्वीय पहिलो काव्य “रामायाण” मा पहिलो श्लोक चाहिँ दुःखको छ । यो सत्य हो । वाल्मिकीले ती दुई चरालाई हेर्दै गर्दा एक शिकारीले एक चराको हत्या गरेपछि अर्को चराको पीडा देखेर लेखिएको त्यो श्लोकमा दुःख लेखिएको छ ।

 

आँखाभरि खिचेर लगेँ

घरको आकृति

मनभरि खिचेर लगेँ

बाअामाका आँखाहरू

 

हिड्ने बेलामा

थपिए केही थान जिम्मेवारी

जो मसँगै हुनेछन् म रहुञ्जेल

 

चोरेर हिँडे अलिकति मुस्कान

डिलमा उभिएर मलाई पर्खिरहेकी उनीको

 

गोरेटो नै धमिलो देखेँ हिँड्नेँ बेलामा

हावा नै रोकिए जस्तो

तनभरि लेखेँ एउटा गीत

गाएँ आफैँले सङ्गीत भरेर

 

जहाजमा उक्लने बेला

ढोगेँ देशको माटो र भनेँ

देश ! म नआउञ्जेल तँ कतै नजानू ल ?

 


 

परिस्थिति निरज दाहाल 

 

एउटा बालक

बजारछेउको सालिक अगाडि

धेरैबेर भयो आँसु पुछ्दै उभिएको

सालिकलाई उसले कसको दुःख सुनाउँदैछ

देशको कि परिवारको ?


प्रकाशित : २०७५ पुष ८, आईतवार १२:२३ गते

धेरै पढिएको

ताजा समाचार