काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले लगातार नवौं खेलमा पनि जित हात पार्दै उपाधि यात्रालाई झनै सहज बनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । मनाङको जितमा अडेलजा सोमिड, अफिज ओलावाले र विमल रानाले गोल गरे । यता, च्यासलका लागि कप्तान देबेन्द्र तामाङले गोल गरे ।
खेलको १६ औं मिनेटमा नै सोमिडले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको मनाङले खेलको दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल पेनाल्टीबाट खान पुग्यो ।
खेलको ७२औं मिनेटमा ओलावालेको गोलबाट मनाङले दोब्बर अग्रता बनाएको थियो । खेलको ८८औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई ३(० को अग्रता दिलाएका थिए । तर, खेलको अतिरिक्त समयमा च्यासलले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै देबेन्द्रले गोल गरेपछि च्यासलले ३-१ गोलको स्थिति बनाएको थियो । तर, मनाङसँगको हार टार्न सकेन ।
जितसँगै शीर्ष स्थानमा रहेको मनाङले नवौं खेलबाट २७ अंक बनाएको छ ।


