विपिन खनालका ५ कविता


 

 

कवि विपिन खनाल देवदह रुपन्देहीमा माता विन्दु खनाल तथा पिता विनोद खनालका पहिलो सन्तान रुपमा वि.सं. २०५३ मंसिरमा  जन्मिनुभएको हो । हाल उहा  त्रिचन्द्र कलेजमा वि एस सी केमिस्ट्री,चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ ।कविता सँग सँगै उहाँ गजल  लेखनमा सक्रिय हुनुहुन्छ । प्रस्तुत छन् उहाँका केहि प्रतिनिधि कविता ।

 

रातो रङ 
विजयको प्रतिक हो,
शक्तिको प्रतिक हो
र क्रोधको प्रतिक हो।


१. निर्दोष

बरफका स-साना टुक्राहरु
बिस्तारै पेगमा खस्दै थिए।

जबसम्म ती टुक्राहरुले
आफू निर्दोष रहेको साबित गर्थे
तबसम्म त तिनिहरु स्वयं
शराब भैसकेका थिए।


२. रातो रङ

रातो रङ
विजयको प्रतिक हो,
शक्तिको प्रतिक हो
र क्रोधको प्रतिक हो।

त्यसैले त प्रत्येक महिना
जब मेरी दिदीको शरिरबाट
केही मात्रामा रातो रगत निस्किन्छ
हर कोहि मानिस उसलाई छुन डराउँछन्।


३. दुखाइ

मलाई दुखाउने चिजहरु
निकै प्यारा लाग्छन्!

जस्तै,मलाई जहिल्यै
फूलभन्दा बढि काँडा मनपर्यो।
फूलको बास्ना भन्दा
काँडा बिझेर बनेको घाउ
धेरै समयसम्म रहन्छ।


४. मृत्यु

यो कफन अनि चिता
केवल बहाना मात्रै हुन्
मृत्युुलाई सत्यताको कठघरामा
उभिन नदिने।

नत्र,मान्छे त तब नै मरिसकेको हुन्छ
जब उसलाई याद गर्ने
कोहि पनि हुँदैन।


५. शुन्य

मलाई थाहा छ
तिमी सङ्-सङ्गै हिड्न
मेरो औकातले भेट्दैन।

त्यसैले मलाई
तिमीभन्दा पछाडी नै राख्नु
किन कि म त शुन्य हुँ
मलाई तिम्रो किमत बढाइदिनु जो छ!

Bipin Khanal


प्रकाशित : २०७५ पुष २, सोमबार १६:५६ गते

धेरै पढिएको

ताजा समाचार