२०५१ साल जेष्ठ ०३ गते जन्मिएका हेमन्त शिशिर, पिता उद्दवराज उपाध्याय र माता बिष्णा देवी उपाध्यायको छोराको रुपमा अछाममा जन्मिएका हुन् ।

Hemanta Shishir
त्रिचन्द्र कलेजबाट स्नातकसम्मको अध्धयन सकेका ‘शिशिर’ साहित्यमा गहिरो रुची राख्दछन् । प्रस्तुत छ उदगार साहित्य समाजको संस्थापक अध्यक्ष समेत रहेका कवी हेमन्त शिशिरसँग गरिएको कुराकानी र उहाँको तीन कविताहरु:-
बौद्दिकताको कुनै निश्चित सिमाना हुदैन, बौद्धिकता विचार, अध्यन र भोगाइको प्रोडक्ट हो । अब कवितामा कतिसम्म बौद्धिकता घुसाउने भन्दापनि कसरी घुसाउने भन्नेकुरा महत्त्वपूर्ण हुन्छ ।
- समकालीन अवस्थामा नेपाली कविता लेखन क्षेत्रमा भावानात्माक भन्दा पनि बौद्धिकता जोड दिइ रहेको पाइन्छ । उसो त अग्रज बालकृष्ण सम पनि भन्थे, ” कविता बौद्धिक कोमलता हो ।” फेरि बौद्धिकता भन्दैमा कविता भित्र सब्बैथोक घुसाउन पाइने कि नपाइने ? एउटा असल कविताले थाम्न सक्ने उत्तरोत्तर बौद्धिकता कहाँसम्मको हो ? तपाईं कविता लेखिरहँदा के कुरामा बेसि ध्यान दिनुहुन्छ, ‘बौद्दिक कमोलता कि जीवन सापक्षेता ?’
बौद्दिकताको कुनै निश्चित सिमाना हुदैन, बौद्धिकता विचार, अध्यन र भोगाइको प्रोडक्ट हो । अब कवितामा कतिसम्म बौद्धिकता घुसाउने भन्दापनि कसरी घुसाउने भन्नेकुरा महत्त्वपूर्ण हुन्छ । कवितामा आफ्नो लेखनकला र विषयवस्तुलाई सन्तुलनमा राखेर लेखेपछि कविता त आफैँ कोमल भैहाल्छ । बौद्धिकता जीवनसंग जोडिएको कुरा हो । कविता लेख्दा म बौद्धिकता र जीवन सापेक्षता दुवै कुरामा ख्याल गर्छु किनभने विचार र जीवन दुवै सापेक्ष छन् ।
- कवि प्रथमतः द्रष्टा हो त्यसपछी स्रष्टा हो । खजमजिएको युगको नक्शालाई सच्चाउनु कविको दायित्व हो । समकालीन कविहरुको एउटै आवाज विशेषत बोलिरहन्छन, “कवितामा समाज र समय लेखिनुपर्छ ।” त्यसो भै‘रहेको छ ? तपाईं त्यसो गरिरहनु भएको छ त ?
हो, अवश्यपनि । कवितामा समय र समाज लेखिनै पर्छ, कवितामा आफू बाँचेको युगको धुन समेट्नु जरुरी छ तर समय र युग लेखिरहँदा कविले कविताको चेतना, कविताको चिन्तन, बिम्ब र मिथकको प्रयोगमा विषेश ख्याल गर्नुपर्ने हुन्छ । कविताको सवालमा कवि केअरलेस हुनु हुँदैन, कवितामा कविले आफू बाँचेको युगलाई एकदम सशक्त रूपमा प्रस्तुत गर्नु पर्छ। मेरो कवितामा मैले अहिलेको समाजलाई अन्याय गरेको छैन जस्तो लाग्छ ।
- नेपाली साहित्य जगतमा बनेका, उठेका घरहरु(कथाहरु) उत्ति भेटिंदैनन् । बिग्रेका, भत्केका घरहरु मात्रै भेटिन्छ । काव्यको मुहान दु:ख नै हो ? कि दु:ख मात्रै हो ? नेपाली काव्य विश्व स्तरमा नपुग्नुको कारण तपाईं के देख्नुहुन्छ ?
एउटा मान्छे आफैंमा एउटा सुन्दर कविता हो ! जीवन धेरैथोकको मिश्रण हो त्यसैले कवितामा रोनाधोना नै गर्नुपर्छ भन्ने त छैन । नेपाली कविता विश्वव्यापी नहुनुको मुख्य कारण अनुवाद हो, राम्रो अनुवाद गर्न सक्ने हो भने नेपाली कवितालाई कमजोर नै त भन्न मिल्दैन ।
कविता १)
कविता – सुदूरको पीडा
छकालै सूर्यको पहिलो धर्को इजाको निधारमा
ठोकिएपछि
अाँखा मिच्दै – मिच्दै बिउँझन्छ भासुको भीर ,
छकालै अाफ्ना गुन्टा मुन्टाउनी
राखिकन केराकेटीको उज्यालो भबिस्य खोज्न हिडेपछि कुन्ता बादिनी
मुढा बजारमा मस्तै लामो हर्न बजाउँछ एक मालवाहक
ट्रक ।
“कवितामा कविले आफू बाँचेको युगलाई एकदम सशक्त रूपमा प्रस्तुत गर्नु पर्छ। मेरो कवितामा मैले अहिलेको समाजलाई अन्याय गरेको छैन जस्तो लाग्छ । “
छकालै ,बम्मै हिडेपछि मूल्लाघरका काउजु
भाणैनी छाणीकन अाफ्ना सबै सुइना
झोक्राएर दिनभरि देउडा गाउदैँ बस्छ
तिनूल पोरकाबर्ष बम्मैबाटी ल्याको रिडियो ।
नबलेपछि सगियोले हिर्काएको सोलार
अथाराको झ्यालबाट ईश्वरसंग उज्यालो माग्दै
मर्छ सुदूरबस्ती
र त
यहाँ खेलीने देउडाको हरेक पैतल- पैतलमा छ
अाँसुको लय ।
यहाँ चोइलो बालेर हेर्दै गणितका ठूलासाना हिसाब
झोक्राएर बस्छन्
सकिएको लालीगुराँस कापीको अन्तिम पानामा नानीहरू,
प्रिय काठमाडौं एकपटक सुदूर पुगि हेर त
देश भनेको मान्ठहरूको भिडमात्र होइन
देश भनेको माटोको ढिक्कामात्र होइन
देश भनेको जंगलमात्र होइन ।
कविता २)
कविता – अभाव
जसरी रसाउछ पहाडको छातीमा
पानीको मुहान
ठिक त्यसरी नै पसिना रसाउने पुरानो घाउको
अझै यही छ
अाफ्नै कमिजको गोजी च्यातेर देशको मुटु
सिलाउने एक अयोग्य योद्धा
टाटो छ हाम्रो छातीमा
तर यहाँ छैन कुनै खुसीको भेल बगाएर
ल्याउने कुलो ,खोला वा नदि ।
अझै
छ अलि -अलि अामाको सेतो सारीमा
बारूदको उड्नै लागेको गन्ध
अझै
छ बहिनीको पेटिकोटमा
महाराजको विर्यबाट निस्केको एक
घाइते क्रोमोजोम
अझै
छ बुट्टा बिग्रेको कमरेडको जुत्ताको
डोब
तर छैन यहाँ भोकको छाला टल्काउने
कुनै इन्द्रेणी ।
अझै यही छ
अाफ्नै कमिजको गोजी च्यातेर देशको मुटु
सिलाउने एक अयोग्य योद्धा
अझै यही छ
देशको लयसंग मर्चपास मिलाउन खोज्दा
भाँचिएको एउटा खुट्टा
अझै यही छ
एकाबिहानै रगतको सम्झना दिलाउन
अाकाशको निधारमा देखिने रातो सूर्य
तर छैनन् यहाँ अाकाशमा चरा जसरी उडिरहेका
परिवर्तनका ताराहरू ।
यही छ
नदि किनारमा
कुनै माझीले माछा मार्दा मार्दैँ छाडिगएको
बल्छी
यही छ
कालो प्लास्टिक भित्र
छट्पटाइ रहेको माछाको कंकाल
घुमाएर हेर्दा ग्लोब
यहीँ छन् कोर्न बाँकी कयौं नक्साहरू
तर
छैन यहाँ परिवर्तनको नृत्य ,
छैन यहाँ सम्भावनाको गीत ,
छैन यहाँ कुनै सपना ,
यो सपनाको अभावमा बाँचिरहेको
गाउँ हो
यहाँका हरेक मान्छेलाई थाहा छ
सपना देख्नुको पीडा ।
कविता ३)
कविता – रूईना थारूको सुहागरात
यो मैन बत्तीको मधुरो प्रकाश
लजाएको रातमा ,
फुलकुमारी उठाउ अलिकति तिम्रो
घुम्टो
फालिदेउ एक किरण मुस्कान दैलाको
गाजलु अाँखामा
अाज करेत सर्प ढोकाबाटै लजाएर
फर्कने छ ।
भोलि त दोबाटोको पिपलले
कपाल नकोर्दै
चुरेडाँडाले अाफ्नो मुहार
खल्याङ्गमल्याङ्ग नपार्दै
एक हुल मिर्मिरे अाएर अपहरण
गरेर लैजाने छ एक उज्यालो दिन,
फुलकुमारी
धानको डाँठमा अस्तिपञ्चर
छुटेको
जिन्दगीभर मालिककै कोदालीले
हत्केला लुटेको
रूइना थारू हाजिर छ तिम्रो अगाडि ।
फुलकुमारी अब उठाउ अाज अलिकति,
तिम्रो घुम्टो ।
फुलकुमारी
भोलि त दोबाटोको पिपलले
कपाल नकोर्दै
चुरेडाँडाले अाफ्नो मुहार
खल्याङ्गमल्याङ्ग नपार्दै
एक हुल मिर्मिरे अाएर अपहरण
गरेर लैजाने छ एक उज्यालो दिन,
अनी अाफ्नो
दाईने खुट्टामा खोच्याँउदै,खोच्याँउदै
तिम्रो छेउमा अाएर खोक्ने छ
एक थकित साँझ ,
फूलकुमारी अब उठाउ अाज
अलिकति तिम्रो घुम्टो ।
अाज
स्पर्श गर घामले पिठ्युँमा
छाडिगएका पैतलाहरू माथि
स्पर्श गर
ढिग्री जस्तै बाफिएको घड्कन
माथि ,
अाद्रता नभएको यो सुख्खा सिद्रा
जस्तो शरीर माथि ,
कालो – कालो अनि नक्सा जस्तै
कच्याककुचुक परेको अोठमाथि ,
फूलकुमारी अब उठाउ अाज
अलिकति तिम्रो घुम्टो ।
फूलकुमारी
अाजको रात निभेपछि फेरि
फर्कने छैन कुनै मधुरो रात ।


