मन परेको कविता’बाट ‘तीन कविता’


७ फेब्रुवरी १९०९ मा वार्सा, पोल्याण्डमा जन्मिएकी ‘अन्ना स्विर’को वास्तविक नाम अन्ना स्विर्सज्येन्स्का हो ।

अन्ना स्विर

Anna Świrszczyńska

अन्ना दोश्रो विश्वायुद्दताका नाजी सेनाले पोल्याण्ड कब्जा गर्दाताका प्रतिरोधमा संलग्न थिइन् । उसो त् वार्सा विद्रोहका बेला सैनिक नर्स भएर काम गरेकी अन्नाले त्यसै समयमा एक घण्टासम्म घोषित मृत्युदण्डको पालो पर्खेर बसेकी थिईन, र पछी त्यसै छाडीइन् ।

उनका कविता पढ्दै गर्दा जीवन भोग्दै गर्दा आइपर्ने जीवन दर्शन साथसाथै नारी शरीर र यौनका विषयमा कलात्मक अभिव्यक्तिहरु पाउन सक्छौं ।

 

समुन्द्र मान्छे

बाँध्न सक्नेछैनौ तिमीले यस समुन्द्रलाई ।

न त विनम्रताले,

न त आक्रोशले नै ।

उसको खिसी गरेर हाँस्न भने सक्नेछौं तिमी ।

 

हाँसोकै खित्काजस्तै क्षणिक बाँच्नेहरुले

पत्ता लगाएका हुन्,

हाँसो ।

 

यो सनातन समुन्द्रले

हाँस्न कहिल्यै सिक्ने छैन ।

 

 


 

४ फेब्रुवरी १९०० मा नोई स्यु सेन, फ्रान्समा जन्मेका ‘ज्याक प्रेभेर’ पेरिस सहरमै हुर्केबढेका हुन् ।

ज्याक प्रेभर

Jacques Prévert

सन् १९४५ उनको पहिलो कवितासंग्रह पाहोल्स(शब्दहरु) प्रकाशित भयो, जुन सर्वत्र प्रशंसित भयो साथासाथै ५ लाख प्रति बिक्री पनि भयो । फ्रान्सको इतिहासमा कुनै पनि पुस्तक त्यति धेरै संख्यामा बिक्री भएको त्यो नै पहिलो अवसर थियो । उनका ‘स्पेक्ताक्ल'(परिदृश्य), ;ला प्लुइ ई ले बो तम'(वर्षा र मनोहर मौसम) लगायतका चौधवटा संग्रहहरु प्रकाशित भएका छन् ।

फोक्सोको क्यानसरको कारण ११ अप्रिल सन् १९७७ मा फ्रान्सको ओमोनभिल्ल ला पुतितमा उनको मृत्यु भयो । मृत्यु पश्चात उनका दुइवटा कवितासंग्रहहरु प्रकाशित भएका छन् ।

 

तिम्रो लागि, प्रिये !

म बजार गएँ, चरा पाइने ठाउँमा

र मैले चराहरु ल्याइदिएँ

तिम्रा लागि ।

 

म बजार गएँ, फूल पाइने ठाउँमा

र मैले केहि फूल ल्याइदिएँ

तिम्रा लागि ।

 

म बजार गएँ,सिक्री पाइने ठाउँमा

र मैले सिक्री ल्यादिएँ

तिम्रा लागि ।

 

र, त्यसपछि म दास बेच्ने ठाउँमा गएँ

तिमीलाई खोजें

तर भेट्टाईन् त्यहाँ तिमीलाई, प्रिय ।

 

 


 

Mahmoud Darwish

१३ मार्च १९४१ मा अल बिर्वा, प्यालेस्टाइनमा जन्मिएका ‘महमुद दरविस’को जन्म मुसलमान परिवारमा भएको थियो । राजनैतिक क्रियाकलापमा संलग्न भएको र सार्वजनिकरुपमा कविता सुनाउँदै हिँडेको आरोपमा युवा अवस्थामै महमुद अनेकौंपल्ट नजरबन्द र थुनामा बसेँ ।

पहिलो कवितासंग्रह’असाफिर बिला अज्निहा”(पंखरहित पंक्षी)ले नै उनलाई प्यालेस्टाइन भरिकै सर्वाधिक प्रखर कविको रुपमा स्थापित गरायो । उनका तीस वटा कवितासंग्रह र अन्य आठ वटा पुस्तक प्रकाशित छन् ।

मुटुको शल्यक्रिया गरिएको तिन दिन पश्चात ९ अगस्ट सन् २००८ मा संयुक्त राज्य अमेरिकाको हस्टनामा उनको निधन भयो  । उनलाई उनको  इच्छामुताविक प्यालेस्टाइन नै लगेर  अन्तिम संस्कार गरियो । भनिन्छ, महमुदको अन्तिम संस्कारमा सम्पूर्ण प्यालेस्टाइनी जनता नै उर्लिएर आएझैं देखिन्थ्यो र उनका मलामीहरुको संख्या नेता यासिर अराफातका मलामी जती नै थियो ।

म त्यहीको हुँ

जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले

उसकी आमाको काखसम्म पुर्याइदिएथें

र आफुलाई बादलले चिनोस् भनेर रोएँथे ।

मातृभूमि

म त्यहीको हुँ ।

जीव जन्मिए जसरि जन्मिएका मेरा स्मृतिहरु छन् ।

मेरी एउटी आमा हुनुहुन्छ, र झ्यालैझ्याल भएको एउटा घर छ,

मेरा दाजुभाइ छन्, साथीहरु छन्,

र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिंडी छ ।

 

समुद्री चराले खोसेका तरंगहरु छन् मेरा,

मसँग मेरो आफ्नै सोचाइ

र घाँसको थप एउटा त्यान्द्रो छ ।

शब्दहरुको पल्लो किनारमा हाँसीरहेको जून मेरो हो,

र चराहरुको अप्रितम कोसेली

र ओलिभको अज्मबरी रुख मेरो हो ।

यसको जिउँदो शरीरलाई

तरवारहरुले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि

हिँडेको हुँ म यो भूमिमा ।

 

म त्यहीको हुँ

जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले

उसकी आमाको काखसम्म पुर्याइदिएथें

र आफुलाई बादलले चिनोस् भनेर रोएँथे ।

 

नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरु सिकें मैले

जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए ।

मैले सबै शब्दहरु सिकें र भत्काएँ तिनलाई

ए बनाएँ एउटा शब्द – ‘मातृभूमि’ ।

 

 

सन्दर्भ सामग्री:- विराटनगरका युवा कवी सुमन पोखरेल(Suman Pokhrel)द्वारा संकलित विदेशी कविहरुको नेपालि भाषामा अनुवादित कविता(अनुवादसंग्रह) ‘मनपरेका केहि कविता(An anthology of poems in Nepali translation), जसलाई शिखा बुक्सले २०७४ मा प्रकाशनमा ल्याएका हो ।


प्रकाशित : २०७५ मंसिर १६, आईतवार १४:११ गते

धेरै पढिएको

ताजा समाचार