-मीनबहादुर विष्ट
जन्म -मार्च १९५५
जन्मस्थल- प्यूठान
पुरस्कार – मीनबहादुर विष्टका कविता (कवितासङ्ग्रह, २०६०), शिक्षाको सिद्धान्त
पुरस्कार – महेन्द्र विद्याभूषण, कृष्णचन्द्र रेग्मी पुरस्कार
गाउँको पाठशाला
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ मुस्किल साथ उभिएका
केही पर्खालहरू
र पर्खालहरूमा झुन्ड्याइएका
कीराले खाएर धेरै ठाउँ प्वाल परेका
देशका, संसारका र वीरहरूका नक्साहरू ।
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ घामले पोलेर छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौन वाचन गरिरहेका गाई–बाख्रा र गोठालाहरू
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रूखको सियाँल मुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरू ।
जब म घुम्दै एक दिन गाउँको पाठशालामा पुगेँ
त्यहाँ देखेँ
खुट्टा भाँचिएका कुर्सीमा चढेर
निदाइरहेका र निद्रामा बरबराइरहेका मास्टरहरू
र मास्टरहरूको आदेश बमोजिम
लोरी गाइरहेका
साना, दुब्ला र ख्याउटे विद्यार्थीहरू ।
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो—
‘कसरी चलिरहेछ गाउँको पाठशाला ?’
मैले भनेँ—
‘जसरी चलिरहेछ यो देश ।’


