एपीएफलाई हराउँदै मनाङ शीर्षस्थानमा उक्लियो


काठमाडौं – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङदी क्लबले नेपाल एपीएफ क्लबलाई २–१ ले पराजित गरेको छ । यस जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो छ ।
१९ औं मिनेटमा मनाङले सुरुवाती अग्रता बनायो । आडेलाजा सोमिडेले विमल रानामगरसँग पेनाल्टी क्षेत्रबाहिर वन टु पास खेल्दै सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई गोलरक्षक राजु योगीले सिधै आएपनि बचाउन सकेनन् ।

२७ औँ मिनेटमा एपीएफले पेनाल्टी पायो । नवीन लामाको फ्रिकिक प्रहार पेनाल्टी क्षेत्रभित्र डिफेन्डर मोहमद आसिफको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नवीनले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।खेलको ४५ औं मिनेटमा मनाङले पनि पेनाल्टी पायो । कमल श्रेष्ठको क्रस सन्तोष कटवालको हातमा लागेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टले गोल गरे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने केहि राम्रा अवसर श्र्रजना गरेपनि गोल गर्न सकेनन् ।

यस जितसँगै मनाङले लिगमा शत प्रतिशत जितको रेकर्डलाई कायम राखेको छ । मनाङ ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा २ अंकको अग्रता कायम गर्न सफल भएको छ । दोस्रो स्थानको आर्मीले ४ खेलमा १० अंक जोडेको छ । तेस्रो स्थानको रुस्लान थ्री स्टारको ९ अंक छ । एपीएफ भने ४ खेलमा ४ अंक जोड्दै लिग तालिकाको नवौं स्थानमा छ ।

 

 

 

 

 

 


प्रकाशित : २०७५ मंसिर ११, मंगलवार १९:१२ गते

धेरै पढिएको

ताजा समाचार