अचेल पढ्नै मन लाग्दैन । एक दुई पन्ना पढ्यो, ध्यान अन्त अन्त नै जान्छ । के गर्ने होला ?
मैले इनबक्समा धेरै म्यासेज यस्तो पाएँ र सोचेँ । मलाई सबै आउँछ भन्ने त होइन, तैपनि यस्तो लाग्यो—
- पढ्न मन नलाग्नू भनेको— अरु कुरामा ध्यान जानू हो । एक दुई पन्ना पढ्यो कि निँद लाग्छ कि तिनै पन्ना मध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ । स्मृतिमा हराउँदा हराउँदै, के पढेँ भनेर थाहै हुन्नँ । फेरि दोहोराउँने पर्ने हुन्छ । दोहोराएपनि स्थिती उहि हो । अव बुझ्नुस्— तपैको ध्यान अन्तै अरु केही कुरामा छ ।
- कि तपाई आफ्नो मनस्थिती बाहिरको कितावमा हुनुहुन्छ । किताव बेकार होइन, तर तपाई त्यो किताव पढ्ने मुडमा हुनुहुन्न । म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताव पढ्ने कोसिस गर्छु अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को अर्को । कुनै न कुनैले अन्तिमसम्म पुर्याउँछ ।
- भए भरका किताव पढ्दा पनि तानेन भने कुनै एक किताव वाचनै गरेर पढ्छु भन्ने प्रतिज्ञा गर्छु र किताव स—स्वर पुरा पढ्ने कोसिस गर्छु । सस्वरमा पढेको किताव पुरा गर्दासम्म अर्को किताव पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ ।
- किताव पठनलाई जीवन शैलीसित जोड्नुस् । हरेक दिनको कुनै समय किताव पठनलाई छुट्याउँनुस् । त्यो समयमा पढ्ने कोसिस गर्नुस् । मुड नचलेपनि यति पेज त पढ्छु भन्ने प्रतिज्ञा गर्नुस् । बिस्तारै तपाईलाई कितावको बानी पर्छ । सर्र सर्र पन्ना पल्टने आवाजको बानी पर्छ !
- सधैँ महान व्यक्तिले सिफारिस गरेका मात्रै किताव पढ्छु भन्ने धारणा नबनाउँनुस् । त्यसैले आँफैले पनि पुस्तकको खोजी गर्नुस् । पुस्तक छान्ने मेरो तरिका छ — पसलमा जाने, हरेक किताव बिचबाट पल्टाउँने । कुनै न कुनै अध्याय तपाईको रुचीको अवश्य फेला पर्नेछ । बिचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताव पढ्ने बाताबरण बन्नु हो ।
- ६— सधैँ महान र प्रख्यात किताव पढ्छु भन्ने धारणा त्याग्नुस् । यो धर्तिका महान लेखक मध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे । पछिल्लो समयका नेपाली साहित्यका मुर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधिर थापा पढेर आएका हुन् । काम सानो हुँदैन भनेजस्तो पुस्तक पनि सानो हुँदैन । जुन कितावमा तपाईको मन बस्यो, त्यहि अमूल्य पुस्तक हो ।
- पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस् । स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस् । आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन । र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन ।
- सोसियल मिडियाको दास नहुनुस् । भविष्यमा मलाई पनि लाइक चाहिन्छ, त्यसैले अर्काको लाइक गरौँ भन्ने तिर नलाग्नुस् । लाइक फेसबुकमा कमाइन्नँ । त्यसका लागी फेसबुकबाहिर कर्म गर्नुपर्छ ! मानौ— कुनै स्टाटस वा फोटोमा एक अरव लाइक पाउँनु भयो! घरबाट निस्केपछि कसैले पनि एक अरव लाइक पाको भनेर नमस्ते गर्देन । सोच्नुस्— जीवन लाइकका लागी होइन, ज्ञानका लागी हो ! त्यसैले पुस्तक पढ्नुस् । आमिर खान भन्छन्, फिल्म मात्रै हेरेको भए, म अरुकोजस्तो सिनेमा बनाउँथे । सिनेमाले सिनेमा बनाउँन सिकाउछ तर असल पुस्तकले असल सिनेमा बनाउँन ।
- मानौँ, पुस्तक पढ्न मनै लाग्दैन । नपढ्नुस् । संसारमा कुनै पनि कुरा मन नलागेको गर्नु हुँदैन । तर, अर्काको नपढि, म आफ्नै मात्र लेख्छु भन्ने ढिपी चाँहि गर्नु हुँदैन ।
- भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन । हरेक क्षेत्रकाले पढ्नुपर्छ ! अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो । तपाई जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस् । नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस् । किनभने, तपाई नेपालको सिमा काटेर नेपाली परिचय बोकेर अर्को सिमाभित्र पस्नु भयो भने तपाईलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि । मलाई लाग्छ— नेपाल चिनाउँने पुस्तक नेपाली भाषामा धेरै छन् । कसैले नेपालमाथि सोध्दा गजव बोल्नु भयो भने तपाईले अवार्ड त पाउँनुहुन्न तर पनि तपाईको इगो हर्ट हुँदैन । इगो हर्ट कम हुनु फेसबुकको स्टाटस कम हुनु हो, जस्ले तपाईलाई धेरै अरु समय अरु काम गर्न अवार्ड स्वरुप दिनेछ ।
ह्याप्पी रिडिङ ।
Buddhi Sagar
प्रकाशित : २०७५ मंसिर १०, सोमबार १४:३२ गते


