अगरबत्ती, आगो र स्याउ  / कवि असिम सागर


 

आगो जो उसको आयु हो
जो जल्न बाँकी रहुञ्जेल जल्छ र निभ्छ

खरानी जो उसको शरीर हो 
जो स्याउको पृथ्वीमा खस्छ र स्याउमै विलिन हुन्छ

अगरबत्ती, आगो र स्याउ

असिम सागर

 

जस्तो कि
एउटा पृथ्वी हो स्याउ
त्यही स्याउको दानामाथि
आगोका झिल्का बोकेर उभिरहेछन्
केही अगरबत्तीहरु

हामी त्यही अगरबत्ती हौं

मानिलिनुस्
त्यो झिल्का मन्दिरमा उभिएर चुपचाप
देशको समृद्धि र शान्तिको कामना गरिरहेछ

एकछिन त्यो झिल्कालाई
बिस्तारै सल्किरहेको आगो सम्झिनुस्
र हेर्नुस् अगरबत्तीमा
कस्तरी खरानी बनेर फुत्रुक फुत्रुक खस्छ
स्याउको भुईमा अगरबत्तीको शरीर
जहाँबाट निस्किन्छ सुगन्धित धुँवा
र वासना छर्दै माथि माथि जान्छ, फैलिन्छ
लाग्छ, कुनै अर्को ब्रम्हाण्डको खोजीमा जाँदै छ ऊ

आगो जो उसको आयु हो
जो जल्न बाँकी रहुञ्जेल जल्छ र निभ्छ

खरानी जो उसको शरीर हो
जो स्याउको पृथ्वीमा खस्छ र स्याउमै विलिन हुन्छ

धुँवा जो उसको चेतना हो, बिचार हो
जसले जीवनलाई सुन्दर बनाउँछ र संरक्षण गर्छ

अगरबत्तीको त्यो सानो झिल्कालाई
तपाईं दीयो मान्नुस् या आगो सम्झनुस्
या कसैलाई मसाल बोकेर उभिएको देख्नुस्
जलेर एकदिन सिद्दिन्छ अगरबत्ती
निभ्छ आयु र सकिन्छ आगो
काटिन्छ अन्त्यमा स्याउको पृथ्वी
र बाँडिन्छ प्रसाद

यो देश
त्यही एक टुक्रा प्रसाद हो
अब, मात्र बाँकी छ प्रसाद ग्रहण गर्न ।


प्रकाशित : २०७५ मंसिर ९, आईतवार १४:५८ गते

धेरै पढिएको

ताजा समाचार