!! नजन्मेको छोरालाई !! कविता !! शंकर लामिछाने !!


पिता हरिप्रसाद लामिछाने र माता राजकुमारीका जेठा छोराका रूपमा वि .सं. १९८४ साल चैत ५ गते

शंकर लामिछाने काठमाडौंको जैसीदेवलमा शंकर लामिछानेको जन्म भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर ‘बनारस’ पुगे। 

चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा 

बौद्धिकताको प्रखर चेत पाइन्छ। शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहने लामिछाने मूलतः निबन्धकार हुन् । उनी

 कथा लेखनमा पनि उत्तिकै कुशलताका साथ कलम चलाउँथे । चेतन प्रवाह शैली(स्टि्रम अफ कन्सिअसनेस)मा बौद्धिक र चिन्तनपरक निबन्ध लेख्ने लामिछानेले  २०२४ सालमा एब्सट्राक्ट चिन्तन : प्याज’ निबन्धकृतिका लागि मदन पुरस्कार पाएका थिए । सो कृतिका साथै गोधूलि संसार(निबन्ध संग्रह), विम्ब प्रतिविम्ब(व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह), शंकर लामिछानेका निबन्धहरु, गौंथलीको गुँड (कथा संग्रह) शंकरका प्रकाशित कृति हुन् ।

कविता : नजन्मेको छोरालाई

 

मेरो छोरा !
एकदिन तैँले मसँग
वा मेरो मृत्यु भएमा
स्वयम्‌सँग
एक प्रश्‍न गर्ने छस् ।
मेरो छोरा !
मसँग प्रश्‍नको केही उत्तर छैन !
सिर्फ छ, एक सन्तुष्टि
बल्ल मेरो परम्पराले थिचेका
प्रश्‍नहरू
तेरो मुखबाट निस्कन सके ।
मेरो छोरा !
तेरो युगको प्रभातमा
मेरो अन्धकार
मेरो मृत्युसँगै मरिसकेका हुनेछन् ।
र तैँले बुझ्ने छैनस्
तेरो पितालाई स्वयम्‌को अस्तित्त्वसँग पनि शङ्का उठेको थियो ।
तँलाई पत्यार पार्न सक्ने छैन त्यसबेला
म कस्तो उत्तेजनाहीन
निष्क्रिय र निर्बल थिएँ ।
तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला
कि सङ्घर्षको सिर्जन निम्ति
शरीरका रगतका अन्तिम बूँद पनि भुल्किनुपर्छ –
केन्द्रित हुनुपर्छ – प्रत्येक क्रिया
एक लक्ष्यमा ।
म त झण्डै लक्ष्यहीन थिएँ
सिवाय एक प्रयासको ।
मैले तँलाई जन्माउने प्रयास गरिनँ;
र लुकाइराखेँ आफैँमा
एक अज्ञात अपरिचित अनिश्‍चित अवसरको निम्ति ।
म भन्न सक्दिनँ, म बिल्कुलै असमर्थ छु –
तँलाई जन्म लिनु दिन ढिला गरेर
मैले, आफैँसँग
वा तैँसँग
वा तेरापछि आइरहने कैयन्-कैयन् वंशसँग
नजन्मेको मेरो छोरा !
तेरो जन्मभन्दा
कति अघि
कति अघिदेखिन्
तेरो प्रश्‍न
मकहाँ आएर फर्केको छैन ।

(स्रोत : Shankar Lamichhane Smriti Ghar)


प्रकाशित : २०७५ मंसिर ४, मंगलवार १६:०५ गते

धेरै पढिएको

ताजा समाचार