ए डिभिजन लिग फुटबल लिग : संकटा, एपीएफ र हिमालयको विजयी


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबारको खेलमा संकटा, एपीएफ र हिमालय शेर्पा क्लवले स्पष्ट जीत निकालेका छन् । सोमबार हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबलाई १ – ० ले हराएयो । हिमालयनको जीतमा विश्वास श्रेष्ठको गोल निर्णायक बन्यो ।विश्वासले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै हिमालयन शेर्पाले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयन शेर्पाले एपीएफसंग बराबरी खेलेको थियो । सरस्वतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सरस्वती संकटासंग पराजित भएको थियो । सोमबार कै अर्को खेलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबलाई १ – ० को गोलान्तरले हराएको छ । एपीएपको यो पहिलो जीत हो । ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई ३ अंक दिलाए ।जीतसँगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । एपीएफले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसंग पराजित भएको थियो । सोमबार नै भएको पहिलो खेलमा संकटा क्लबले लिगमा लगातार दोस्रो जित निकालेको छ । संकटाले जावलाखेल युथ क्लबलाई २ शून्यले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १० खेलाडीमा सिमित संकटालाई जित दिलाउन सेड्रिक अबाले दुई गोल गरे । पहिलो हाफको २० मिनेट भित्रै १० खेलाडीमा समेटिए पनि संकटाले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै जित हात पारेको हो । खेलको १९ औं मिनेटमा एलोन म्यास्कवेलले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएपछि संकटा १० खेलाडीमा समेटिएको थियो ।जारी लिगको यो पहिलो रातो कार्ड हो । तर, दोस्रो हाफमा संकटा खेलमा फर्कियो । आजको जितसंगै संकटाले २ खेलबाट ६ अंक जोडेको छ । संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेलले भने लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा जावलाखेल नेपाल पुलिस क्लबसंग १ शून्यले पराजित भएको थियो ।


प्रकाशित : २०७५ मंसिर ३, सोमबार १८:३६ गते

धेरै पढिएको

ताजा समाचार