!! ‘योगेश घिमिरे’को तिन कविता !!


२०५३ साल जेठ २९ गते  बुट्टार -१, गण्डकी गाउँपालिका, गोरखामा जन्मिएका ‘योगेश घिमिरे’ हाल तिनकुने काठमाडौंमा बस्ने गर्दछन । ‘पिपुल्स क्याम्पस’मा व्यवस्थापन संकायमा स्नातक अध्धयनरत घिमिरे आफ्नो अध्धयनसंगसंगै साहित्यमा पनि गहिरो रुचि राख्दछन् ।

मानवता मात्रै अंगालेर लेखिएको कविता हृदयले लेखिएको कविता हो,

Yogesh Ghimire

Yogesh Ghimire

त्यसमा भाव पक्ष मात्रै राम्रो हुन्छ ।

  • कवीता के हो त् कवी को हो झैँ लाग्छ?’ भनेर हामीले उनलाई सोधेका थियौं !

उनि बताउछन,” सामान्य रुपमा भन्नु पर्दा कविता भनेको भावनाहरु अभिव्यक्त गर्ने माध्यम

हो । भावना यस अर्थमा कि कविताले कविको मनस्थिति देखि लिएर देशको परिस्थिति, प्रेम देखि लिएर युद्ध सबै समाविस्ट गर्छ र गरिनु पर्छ । कवी एक आम मानिस हो, जो आफ्नो र आफु जस्तै आम मानिसहरुको आम भावनाहरुलाई काव्यिक स्वरूप दिन्छ ।”

संगसंगै उनि यो पनि थप्छन, “आफ्नो भावना, अनुभूति, कल्पना, भोगाई, अवलोकन आदि को लिखित अभिव्यक्ति भनेको नै कविता हो ।”

  • एक पक्ष भन्छन,” कवितामा मानवता हुनुपर्छ ! मानव जीवनकै परिवेश भित्र रहेर अध्धयन गरि लेखिनुपर्छ ” फेरी अर्काथरी यो पनि भन्छन,” कविता भनेको विद्रोहात्मक हुनुपर्छ ! यसले समाज परिवर्तन गर्नैपर्छ  ” तपाइँ के भन्नुहुन्छ ?

“होइन,.यति मात्रै पनि होइन । एउटा अर्को एक जमात पनि छ जसले कवितामा मानवता संगसंगै विद्रोहात्मकता पनि अँगालेका छन् । मानवता मात्रै अंगालेर लेखिएको कविता हृदयले लेखिएको कविता हो, त्यसमा भाव पक्ष मात्रै राम्रो हुन्छ । र, जब विद्रोहात्मक कविता लेखिन्छ, त्यसमा कला पक्षमा उत्कृस्टता हुन्छ । यो मस्तिष्कद्वारा घटित हुन्छ  । दुवै पक्ष आगालेर लेखिएको कविता साचो अर्थमा साचो कविता हो । म एउटा कुरा भन्छु, ‘हृदय र मस्तिष्क दुवैको जहाँ बराबरी संलग्नता हुन्छ, त्यो चाइ कविता हो ।‘…त्यस्ता कविताहरु युगयुगसम्म बाच्छन् !..बाचिरहेका पनि छन् ।“

प्रस्तुत छ उहाँको तिन कविताः-

 

मौसम

**

आजको मौसम रामबिलासको कछाड जस्तै देखिन्छ

धमिलो

कहाँ गयो होला

मनमायाको मुस्कान जस्तै जुन

कता लागे

चकचके बच्चा जस्तै टिमटिम गरिरहने ताराहरु ?

दु:खका वक्ररेखाहरु छाएकाछन आकाशभरी

यस्तो लाग्छ

रुन ठिक्क परेको छ बादल ।

 

आजको मौसम

बर्षान्त बारेको घर जस्तै देखिन्छ

सन्नाटामा पुरिएको ।

 

“म एउटा कुरा भन्छु, ‘हृदय र मस्तिष्क दुवैको जहाँ बराबरी संलग्नता हुन्छ, त्यो चाइ कविता हो ।‘…त्यस्ता कविताहरु युगयुगसम्म बाच्छन् !..बाचिरहेका पनि छन् ।”

कागहरुको सहर

**

कुहिएपछि मानव विचारहरु

डुङ्डुङ गनाउदोछ यो सहर

खन्डहर बनेको छ

कुहिएर आदिम सभ्यता

 

अचेल यो सहरको आकाशमा

कागहरु राज गर्छन्

माथी बाटै हेर्छन बेतिथी

र माथिबाटै फर्कन्छन

पित्त बिस्ट्याएर

 

जमिनमा ब्वाँसाहरु सल्बलाउछन

रखवाली गर्छन् सिनु बनिसकेको सभ्यता

जसरी दुधको रखवाली गर्छ बिरालो !!!

 

मानिसहरु आफ्नै बिलयको कारक बनेकाछन

सुम्पिएर सत्ता कागहरुलाई

ब्वाँसाहरुलाई ।

 

 

राजधानी छिरेको बिर्खे

**

हस्तरेखाहरु साहुको जिम्मामा छोडेर

एउटा दुब्लो मानुस

भालेको डाँक अघि नै

लुसुक्क सहर पस्छ।

 

सहरमा

उसले कमाउनुछ

र सबैभन्दा पहिले फिर्ता लिनुछ

आफ्नै हत्केलाको स्वामित्व

अनि किन्नुछ

आकाशले रोएर नबिथोल्ने निन्द्रा

 

जमानि बसेको

मंगलसुत्र छुटाउनुछ

छोरोको सपनाहरु किन्नुछ ।

 

आमालाई सास फेर्नै नदिने

ज्याद्रो दमको ओखती

बाको फुटेको हातको मलम

….

अहो !

किन्नुपर्नेहरु धेरै छन्

 

सोच्दा सोच्दै उ सहरको मुल चोकमा पुग्नेछ

लापरबाह लात बजार्दै स्वागत गर्नेछ समय

र थपिईनेछ

सपनाहरुको भिडमा

एक अर्को सपना !!

Yogesh Ghimire

 

 


प्रकाशित : २०७५ मंसिर ३, सोमबार १६:१६ गते

धेरै पढिएको

ताजा समाचार