२०५२ साल चैत्र ९ गते बाँफिकोट -८, रुकुममा जन्मिएका नवीन शर्मा हाल शन्तिनगर गाउपालिका- २, दाङमा बस्ने गर्दछन । महेन्द्र बहुमुखी क्याम्पसबाट रसायनशास्त्रमा स्नातक सकी सकेका नविन आफ्नो अध्धयनसंगसंगै साहित्यमा पनि गहिरो रुचि राख्दछन् ।
’कवीता के हो त् ? कवी को हो झैँ लाग्छ ?’ भनेर हामीले उनलाई सोधेका थियौं ! उनि बताउछन,”कवी आम मानिस नै हो ! कविको पनि जीवन हुन्छ ! उसंग पनि हृदय हुन्छ, मस्तिष्क हुन्छ; दया हुन्छ, रिस हुन्छ, माया हुन्छ, सद्भाव हुन्छ, चेतना हुन्छ ! यी सब कुराको कारुणिक अभिव्यक्ति कविता हो ! …र, त्यो कारुण हृदय नै एक असल कवी हृदय हो ! यत्ति हो कविता कठोर हुनसक्ला, कवी कहिल्यै पनि कठोर हुन् सक्दैन ! दयाले भरिएको हृदय र असन्तुष्टिले भरिएको मस्तिष्क बोकेर जो हिड्छ, मलाइ लाग्छ सो व्यक्ति कवी हो । ”
संगसंगै उनि यो पनि थप्छन, “कविता कला हो। समय, परिबेश, समाज, प्रेम, जन्म, मृत्यु जस्ता कुराहरुको सुन्दर कुँदाई नै कविता हो।”
प्रस्तुत छ उहाको तिन कविताः-
—“पात”—
अनेक जिवहरुको प्राण बनेको हरियो पात
जब विवशताको हुन्डरिले हुत्याईन्छ
तब जिवहरुकै पैतालामुनी हराउछ
हावाको ईशारामै लहरी खेलिरहेको बेला
निर्दयी हातहरुले निमोठिन्छ घाँटी
र चुँडाइन्छ उसको हरियो बचपन
छरपस्ट पारिन्छ भुँईभरी
फेरि तेर्स्याईन्छ एकपछी अर्को र
बाँधिन्छ स्वार्थको डोरिले अनि कसिन्छ बेस्सरी
लगेर घरमा
घोचिन्छ समयको धारले तिखारिएको- बाँसको काँटिले
उसकै छातिमा र
र गाँसिन्छ समयको टपरी बनाएर
अर्कै जिवनको आशा देखाएर
सजाईन्छ- बिवाह मण्डपमा/पुजाको बेदि अघि
राखिन्छ हरियो दुवो र वेलपत्रका लासहरु
मुछिन्छ विभेदका रंगहरुले
श्यामश्वेत चामलका गेडाहरु
आदर्शको खोल ओडेर
पुण्यको नाउमा निधारमा टाँसिन्छन लोभका अक्षेताहरु पाहुनाको स्वागतार्थ
अर्गानिक टपरीमा बिषादी राखिएर ताजा बनाईएका
फलफुलहरु/
खुवाईन्छ बिहेको भतेर/
पुजाको पर्साद
अन्तत; फ्याकिन्छ फोहोरको डङ्गुरमा
अथवा बगाईन्छ फोहोरमतिमा पाप कटाउन
तर यसको अर्थ आज बल्ल बुझेको छु
पातको जस्तै रंग पोतिएको राहदानी थमाएर देशले
मलाई पनि पात बनाउदै पो रहेछ।
“दयाले भरिएको हृदय र असन्तुष्टिले भरिएको मस्तिष्क बोकेर जो हिड्छ, मलाइ लाग्छ सो व्यक्ति कवी हो । “
—“प्रसबपछि”—
पहाड – पहाड हुनुकै पिडाले थेचिए पनि
जसरी शान्त खोला बगाउछ
आफैलाई निचोरेर/ चिरेर
त्यसरि नै म जन्मिएको थिए
त्यो खोला नदि सङ्ग मिल्छ या मिल्दैन
त्यो खोला सागर सङ्ग मिल्छ या मिल्दैन
त्यो खोला कि ताल मै पुगेर सकिन्छ
अथवा समुन्द्र भेटेर आनन्दको निन्द्रा निदाउन सक्छ
जसरी आफ्नै परिश्रमले खियाउछ भुगोलको काख
जसरी आफ्नै थाप्लोमा बोकेर लैजान्छ ढुङ्गाको देश
घडिको ब्रमाण्डमा म्याराथुन खेलिरहेका सुईहरु सङ्गै
आफ्नै रंङ बिर्सिएको रुख जस्तो
मानौ कि रुख बूढो भएपछी पातले आफै साथ छोडे जस्तो
– बूढो रुख हो को पात?
स्वार्थको भागबन्डामा यो धर्तिको छाती बारम्बार
चिरेर लालपुर्जा देखाउने हरु यो याद राख्नु कि
यो ब्रमाण्डको आकार तिम्रो जिन्दगी हुर्काउन
आमाले चुसाएको स्तनको आकार सङ्ग मिल्छ
मैले मेरि आमाको छातिमा ब्रमाण्ड देखेको छु।
पहाड – पहाड हुनुकै पिडाले थेचिए पनि
जसरी शान्त खोला बगाउछ
आफैलाई निचोरेर/ चिरेर
त्यसरि नै म जन्मिएको थिए
“समय, परिबेश, समाज, प्रेम, जन्म, मृत्यु जस्ता कुराहरुको सुन्दर कुँदाई नै कविता हो।”
—“सम्झनामा राजमार्ग”—
भन्नेले भन्दिए,
वायुमण्डलको राजमार्ग हुदै घरको बलेसी बाट
चुहिने घामका लहरहरु
खुसी बोकेर आईदिन्छन
घामका लहरहरु मै ठोक्किदै आईरहेका
हावाका झोक्काहरु स्नेह बोकेर आईदिन्छ्न
भन्नेले यो पनि भन्दिए
अँध्यारोको बैसाखी टेकेर
टुप्लुक्क वारीको डिलमाथीको सिमलमा बुई लाग्न
आउने जुन
प्रीयको सम्झना बोकेर आईदिन्छ
सायद
त्यही सम्झेर होला
हरेक रात हजुरआमा बस्नुहुन्छ आँगनको छेउ
समाउनु हुन्छ ऎना
र समाउदै हत्केलामा आकाशलाई
सुम्सुम्याउनु हुन्छ जुन
तर बुझिसक्नु भएको छ- बडो धोकेबाज हुँदा रैछन प्रीयहरु
कुप्रो पिठ्युमा नावालक घामलाई बोकेर निस्कनु हुन्छ पँधेरामा
र फर्किनु हुन्छ-गाग्रीमा हजुरवाको माया बोकेर
तर बुझिसक्नु भएको छ- खुसिहरु क्षणिक हुँदारहेछ्न
हजुरआमा यो पनि बुझ्नु भएको छ
फुलहरु ओईलाउन/ मुर्झाउनकै लागी फुल्छन
जुन आफ्नै प्रकाशले नचम्किदो रैछ
खोलाहरु ओरालो सतह तिरै बग्दा रहेछ्न
आफन्तहरु खुसी बाड्न मात्र काम लाग्ने रहेछ्न
मेरै शिरमाथी आशिर्वादका हत्केलाहरु राख्दै भन्नुहुन्छ-
नानी वर्तमानहरु खुसी हुन/ हास्नकै लागी हुँदारैछन
बर्तमान अन्धो हुदो रैछ जसले कहिल्यै भविष्य
नदेख्दो रहेछ
उहाँसङ्ग एउटा चिनो छ/ प्रेम छ
जसलाई बडो जतनले रख्नुहुन्छ चोलीको गोजीमा
झिक्नु हुन्छ र सुम्सुम्याउनु हुन्छ बडो स्नेहले
भर्नु हुन्छ प्रेमका नशाहरु
कोर्नु हुन्छ- एक झर्को प्रेमको काँटी
बडो प्रेमले च्याप्नु हुन्छ हत्केलाले
र चुम्नुहुन्छ ओठले
प्रेमको निकोटिन आफैले लिएर निकाल्नुहुन्छ
प्रेमको मुस्लो ओठहरुबाट
र हावामा हजुरबाको पोट्रेट बनाउनु हुन्छ
एकोहोरो हेरिराख्नु हुन्छ – तर निमेषभरमै बिलाईदिन्छ
आँखाबाट निर्दोष बालसुलभ मोतीदाना खसाल्नुहुन्छ
र भन्नु हुन्छ
नानी- आफ्नाहरु नै निस्ठुरी हुँदा रहेछ्न
आफ्नाहरुले नै छोडेर जाँदा रहेछन।


