‘स्रष्टा मरेर गए पनि उसका कृति सधैं बाँचिरहने हुँदा साहित्यकार कहिल्यै नमर्ने प्राणी हो !’ ‘स्व. जीवन आचार्य सानै उमेरमा नेपाली साहित्यिक फाँटमा आफ्नो बलियो उपस्थिति जनाउने एक सफल कवि हुनुहुन्थ्यो’, कवि तुलसी दिवस अझ थप्नुहुन्छ !
‘जीवन स्मृति प्रतिष्ठान’का अध्यक्ष भूमिप्रसाद दाहालको सभापतित्वमा भएको एउटा कार्यक्रम(स्व. कवि जीवन आचार्यको २९ सौं स्मृति दिवसको अवसर)मा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले ३१ वर्षको कलिलो उमेरमा नै जीवन आचार्यले यो धर्ती छाडेर गए पनि उहाँका कालजयी र अब्बल कविता नेपाली पाठकले हृदयमा सजिएर रहेको बताउनुभयो ।
युवा कवि एवम् कलाकार स्व.जीवन आचार्यको जन्म २०१५ चैत्र २० गते र निधन २०४६ वैशाख २३ गते भएको थियो ।
—“प्रश्न नम्बर एक “—
बुद्द तिमि छौ, म छु !
हामीबीच गहिरो र अध्यारो दुरी कायम छ
– पच्चीस सय वर्षदेखि रेलको सुरुङ्ग जस्तै !
यतिबेला तिम्रो अमरतत्वको कुनै अर्थ छैन
तिमि तर्सेर भागेको रोगि लुम्बिनी
झन् झन् बुढो हुँदैछ – पिपलको रुख जस्तै !
र, अशोकस्तम्भ तोपकै आकारमा प्रतिक मात्र छ !
यति बेला तिमीले छोडेको बालक राहुल
उसको सबभन्दा ठुलो शत्रु तिमि जस्तै
बाबुसंग तर्सेर कापिरहेको छ !
तिमीले पहिलोपल्ट देखेका लाशहरु
बुढानिलकण्ठ जत्तिकै चिसा छन्- ढुंगामा
– कुनै तेहरान, विजयपुर र रंगगुनसँग निद्रा बाँकी छन्
– बोधीवृक्ष जस्तै बुढो शरीरको निन्द्रा !
र, तिमि अमर छौ, म चकित छु तिमि कसरि अमर छौ ?
सबै यथावत् छ-
मृत्यु र लुम्बिनी, लाश र तिम्रो दरबार !
म छक्क परेर स्यम्भुमा नतमस्तक छु –
खै तिमि कसरि अमर छौ ?
—“संगीतकार”—
धुनहरु अभिमन्चित गरेर पर्दाहरुभित्र
म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु, पर्दा उघ्रदैन !
पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ-
” संगीतज्ञको पेट खोक्रो सारंगी भएकोले
उँहाकोका लाशमात्रै प्रस्तुत गर्न सक्यौ,
त्यस सारंगी शरीरलाई रेट्न सक्ने
तपाईसँग शिल्प छ भने
– कृपया, स्टेजमा पाल्नुहोला !!”
—“मूर्तिकार”—
थुप्रै मुर्ति शिल्पका कलाकृतिहरु वरिपरि घुमेर
म ति हातहरुको प्रशंशा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु
एउटा मूर्ति चल्मलाउँछ,
म छक्क पर्छु- कलाकृति सुन्दर मात्रै हैन्म सजीव रहेछन,
हेर ! मूर्ति त् बोल्न पनि लाग्यो,
मूर्तिहरुमध्ये बीचबाट,
– ” मलाइ पहिले किन्नुस हजुर ! म ज्यादै भोको छु !”


