काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कडा कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने चेतावनी दिनु भएको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले वाइडबडी विमान खरिदका सम्बन्धमा आयोगले छानबिन सुरु गरेको पनि समितिलाई जानकारी गराउनुभयो । यसै गरी उहाले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी भ्रष्टाचारको मुद्दामा आयोगले गम्भीर अनुसन्धान गरिरहेको पनि स्पष्ट पार्नुभयो ।
संविधानको दायराभित्र रहेर भ्रष्टाचारको छानबिन गर्न आयोग प्रतिवद्ध रहेको पनि घिमिरेले बताउनुभयो । आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ उहाँले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको गराउन पनि समितिलाई आग्रह गर्नुभयो ।
बैठकमा समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कारबाही नगरेको भनि प्रश्न गर्नु भएको थियो । समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै उहाँले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न नसकेको दाबी पनि गर्नुभयो ।
यसै बिच प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गर्नुभएको छ । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदियको र त्यसमा ८० जनासम्म संलग्न रहेको जानकारी गराउनुभयो। भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी कार्यालयहरु नै खाली हुने अवस्था रहेको उहाँले बताउनु भयो ।
भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिकसमाज सबैका लागि चुनौती भएको पनि जानकारी गराउनुभयो ।


