काठमाडौं
सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको छ ।
विगत ६ वर्ष देखि पारिश्रमिक पुनरावलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरबमा नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्को बैठकमा पेश गरेको थियो । श्रममन्त्री गोकर्ण विष्टको विशेष सक्रियतामा मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो । पुनरावलोकन गरिएको पारिश्रमिक अनुसार अब साउदी अरबमा काम गर्न जाने नेपालीले न्यूनतम एक हजार देखि अधिकतम ११ हजार साउदी रियालसम्म पाउनेछन् ।
सरकारको यस नयाँ नियम अनुसार न्युनतम मासिक १ हजार साउदी रियाल पारिश्रमिक पाउनेमा अदक्ष कामदार पर्दछन भने अधिकतम पारिश्रमिक मासिक ११ हजार साउदी रियालसम्म पाउनेमा डाक्टर ( जनरल फिजिसियन), सर्जन, चार्टर्ड एकाउन्टेन्ट विशेषज्ञ रहेका छन् । न्युनतम पारिश्रमिक १ हजार रियाल पाउनेमा लेवर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय, वाचमेन अदक्ष रहेका छन । त्यसमा तीन सय रियाल औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी र रोजगारदाताले उपलब्ध गराउने छ । साउदीमा रोजगारीका लागि जाने नेपाली कामदार मध्ये अधिकांश अदक्ष कामदार छन् ।
राजधानीबाट


