काठमाडौं – ‘जिरो’पछि बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष क्रिसमसको अवसरमा उनी अभिनीत सिनेमा ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, सिनेमा बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । सिनेमाबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको छ । उनलाई सिल्भर स्क्रिनमा हेर्न दर्शक आतुर छन् ।
शाहरुख खानले २०१९ मा थुप्रै पटक कुनै न कुनै प्रोजेक्ट साइन गरेको चर्चा भयो तर ती सवै चर्चा सत्य हुन सकेन । यसबीच, उनका फ्यानले ट्विटरमा एक ह्यासट्याग भाइरल गरेका छन् । #WeWantAnnouncementSRK बाट फ्यानले शाहरुखलाई सिनेमामा फर्किन आग्रह गरेका छन् । अधिकांशले उनलाई सिनेमामा फर्किन आग्रह गरेका छन् भने केहीले उनलाई धम्की समेत दिएका छन् ।
ट्विटरमा एक यूजरले लेखेका छन्, ‘यदी तपाईंले १ जनवरीसम्म आफ्नो कुनै नयाँ सिनेमा घोषणा गर्नु भएन भने म सुसाइड गर्नेछु । म फेरि पनि भन्दैछु कि म सुसाइड गर्नेछु ।’ शाहरुखका अन्य फ्यानले लेखेका छन्, ‘हामीले जीरोपछि तपाईंको सिनेमा हेर्न पाएका छैनौं । तपाईं हामीलाई यशराज फिल्म्सको सिनेमा ‘धूम’ सिरिज वा एट्लीको नयाँ सिनेमा साइन गरेको जानकारी दिनुहोस् ।’


