ए डिभिजन लिग : थ्री स्टार र आर्मी बराबरीमा


 

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँडेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेलेको हो। खेलको अन्तिम मिनेटमा गोल गर्दै आर्मीले थ्री स्टारसंग अंक खोस्न सफल भएको हो। फरवार्ड जर्ज प्रिन्स कार्कीले दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै आर्मीलाई एक अंक दिलाउन सफल भए।

खेलको ७० औ मिनेटमा निराजन खड्काको गोलमार्फत थ्री स्टारले सूरुवाती अग्रता लिएको थियो। पिटर सेगुनले उपलब्ध गराएको बलमा अजायी मार्टिनले हेडमार्फत मिलाई दिएको पासमा निराजन गोल गर्न सफल भएका थिए।

बराबरीसंगै थ्रीस्टारको उपाधि होड कमजोर बनेको छ। तेस्रो स्थानमा रहेको थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडि परेको छ। थ्री स्टारको ९ खेलबाट २२ अंक भएको छ। चौथो स्थानको आर्मीले समेत १८ अंक जोडेको छ।

यस्तै आज भएको पहिलो खेलमा विभागीय टिम पुलिस क्लब ब्रिगेड ब्वाईजसंग बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले ब्रिगेड ब्वाईजसंग १–१ गोलको बराबरी खेलेको हो। खेलको ५ औ मिनेटमा ब्रिगेडले खेलमा अप्रत्यासित अग्रता लिएको थियो । ब्रिगेडका रितिक खड्काले गोल गरेका थिए।

७५ औ मिनेटमा पुलिस बराबरी गोल गर्न सफल रह्यो। पुलिसका अभिषेक रिजालले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। खेलमा सुरुवातबाटै बिग्रेडलाई दबाबमा राखेको पुलिसले गोल गर्न भने सकेन। १६ औ मिनेटमा सन्तोष गुरुङको पासमा कप्तान भरत शाहले हेडिङ पोल नजिकैबाट बाहिरियो। २१ औ मिनेटमा तेज तामाङको कर्नरमा दिनेश राजबंशी हेड बल ब्रिगेका सुजित बुढाथोकीले गोल लाईनबाट बचाएका थिए।

अंक बाँड्न परेपछि पुलिसको ९ खेलबाट १४ अंक भएको छ। पुलिस तालिकाको पाँचौ स्थानमा यथावत छ। ब्रिगेड ५ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ।


प्रकाशित : २०७५ पुष ४, बुधबार २०:१४ गते

धेरै पढिएको

ताजा समाचार