एजेन्सी – इन्डियन प्रिमियर लिग ९आईपीएल० को १२ औँ संस्करणमा नयाँ खेलाडी पुराना खेलाडीमाथि हावी देखिएका छन् । २५ वर्षीय शिवम दुबे पनि तीनै खेलाडीमध्ये एक हुन् ।
शिवम दुबेको बेस प्राइस २० लाख भारतीय रुपैयाँ थियो । उनलाई रोयल च्यालेन्जर्स बेंग्लोरले पाँच करोड भारतीय रुपैयाँमा किन्यो । तर आईपीएलका स्टार खेलाडी मानिने युवराज सिंह भने बिकेनन् । उनको बेस प्राइस भने एक करोड भारतीय रुपैयाँ थियो ।
शिवम मुम्बईका हुन्, उनी अलराउण्डर क्रिकेटर हुन् । उनी दाहिने हाते मध्यम गतिका फास्ट बलर हुन् भने उनी बायाँ हाते ब्याट्स्म्यान हुन् ।
मुम्बईका अलराण्डर शिवम दुबेले आईपीएलमा धमाकेदार इन्ट्रीका लागि कुनै टी–२० खेल पर्खेनन् । मात्र एक ओभरले उनलाई पूरा भारतभर चर्चामा ल्यायो ।
आईपीएल अक्सनको ठिक एक दिनअघि बडौदाविरुद्ध उनी रणजी ट्रफीको खेल खेलिरहेका थिए । उनले एकै ओभरमा स्वप्निल सिंहको बलमा लगातार पाँच छक्का हाने । उनले रणजी ट्रफीमा रवि शास्त्रीको ६ छक्काको रेकर्ड त बराबरी बनाउन सकेनन् तर पनि आईपीएलको अक्सनमा भने तहल्का मच्चाउन सफल भए ।
उनले मुम्बईका लागि ६० बलमा तीन चौका र सात छक्काको सहयोगले ७६ रन बनाएका थिए ।
शिवम विद्यालयमा पढ्ने बेलादेखि नै क्रिकेट खेल्थे । मुम्बई य–२३ टिमबाट पनि उनले उत्कृष्ट क्रिकेट खेले । २०१८ मा त उनी मुम्बईका लागि महत्वपूर्ण खेलाडी नै सावित भए ।
यही समयमा शिवमले आफ्नो बलिङमा पनि निकै सुधार गरे । विजय हजारे ट्रफीमा पनि मुम्बईको जितका लागि उनको भूमिका महत्वपूर्ण रह्यो । मुम्बई टी–२० लिगमा प्रविण ताम्बेको एक ओभरमा उनले ६ वटा छक्का प्रहार गरेका थिए । त्यही पारि उनले रणजी ट्रफीमा बडौदाविरुद्ध स्वप्निल सिंहको ओभरमा दोहोर्याए ।
त्यही पाँच बलले नै शिवम दुबेमाथि आईपीएलका सबै फ्रेन्चाइजको नजरमा परेका थिए ।


