काठमाडौं – एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित भएको छ । प्रतियोगितामा पोखराको यो लगातार तेस्रो हार हो भने विराटनगरको लगातार दोस्रो जित हो ।कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदा ८४ रन मात्र बनाउन सक्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । ७८ रनमा सात विकेट खेर फालेको पोखराका पउल कोलिग्न र राजेश पुलामीको ३० रनको साझेदारी नै उच्च रह्यो । पउलले २० रन बनाए भने राजेशले १७ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए । पोखरालाई कम स्कोरमा रोक्न पिटर भान मिकिरेनले तीन तथा रे भान डेर मर्वेले दुई विकेट लिए ।
जवाफमा विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल बराबरी भयो । खराब सुरुवात गरेको विराटनगरले २८ रनमा चार विकेट खेर फाल्यो । विराटनगरका आसिफ शेख १९ तथा सन्नी पटेल आठ रनमा आउट भए । विराटनगरको स्कोर ५६ रन हुँदा सातौं विकेट झर्यो । तर अन्तिममा करण केसीले १५ रन बनाए भने हरी चौहानले १२ रन बनाए ।अन्तिम दुई ओभरमा विराटनरलाई जितका लागि मात्र ६ रन चाहिएको थियो । तर उसले पुरा गर्न सकेन ।अन्तिम चार बलमा मात्र एक रन चाहिएकोमा उसले अन्तिम विकेट गुमाउन पुग्यो । बलिङतर्फ पोखराका बिपिन खत्रीले तीन तथा सुसान भारी र पउल कोलिग्नले दुई(दुई विकेट लिए ।खेल टाइ भएपछि भएको सुपर ओभरमा करण केसीको उत्कृष्ट पारीमा विराटनगरले २१ रनको लक्ष्य दियो । जवाफमा पोखराले १३ रन मात्र बनाउन सक्यो ।


