नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाश कहिल्यै ननिभ्ने तारा हुन् ।
उनको निधन वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौमा भएको हो ।
***
निबन्ध – नेता नम्बर एक सय एक
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते,फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।


