काठमाडौं : आगामी ४ माघबाट सिनेमा हलमा रिलिज हुने चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा…’ को भिडियो रिलिज गरिएको छ। पछिल्लो समय गीतमा मोडलका रूपमा छाउन थालेका अभिनेता/निर्देशक निश्चल बस्नेतले यो गीतमा अभिनय गरेका छन्। गीतमा निश्चलसँगै कर्मा, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनको नृत्य छ।
रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको यो गीतमा प्रियंका र अञ्जली ग्लामर रूपमा प्रस्तुत भएका छन्। गीतमा यी दुईसँगै निश्चलको नृत्य पनि आकर्षक छ। यो गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ। गीतलाई दिनेश राउतले लेखेका हुन्। कोसिस र मनीषा पोखरेलको स्वरमा यो गीत रेकर्ड गरिएको छ।
पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्यरस पनि प्रशस्त रहेको निर्देशक सुवास कोइरालाले बताएका छन्। आकाश बराल, विनोद खतिवडा र सुवास आफैंले पटकथा संवाद लेखेको यो फिल्मको कथा कसम नेपालको हो।
फिल्ममा प्रियंकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रवीण खतिवडासहित विभिन्न कलाकारको अभिनय समेटिएको छ। निर्माताको रूपमा अजित प्रजापति र अशोक गौतम रहेका छन्। सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्। -अन्नपूर्ण पोस्ट


